च्याम्पियन्स ट्रफीपछि धोनीले सन्यास लिने सम्भावना!


भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले च्याम्पियन्स ट्रफीपछि सन्यास लिन सक्ने उनका पूर्व प्रशिक्षक केशव बनर्जीले बताएका छन्।

धोनीलाई निकै नजिकबाट चिन्ने बनर्जीले भारतीय संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा माहीले च्याम्पियन्स ट्रफीमा उनको प्रदर्शन राम्रो नभएको खण्डमा सन्यास लिन सक्ने बताएका छन्। धोनी आफ्नो खेल जीवनमा सधै अपत्यारिलो निर्णय गर्ने कारण उनी चर्चामा रहने गर्दछन्।

बनर्जीले स्कुले जीवनमा फुटबलको गोलकिपर रहेका धोनीलाई क्रिकेटको विकेटकिपर बनाएका थिए। उनका अनुसार धोनी आफूमाथि हुने आलोचना रुचाउदैनन्। त्यसैले च्याम्पियन्स ट्रफीमा आफ्नो प्रदर्शन औसत भयो भने पनि उनले सन्यास लिन सक्ने उनको भनाई छ।

धोनीले टेस्ट क्रिकेटका सन्यास लिँदा कसैले यसको आशा गरेका थिएनन्। धोनी भारतीय क्रिकेटमा टेस्टको नम्बर एक टिम, एकदिवसीय विश्व कप र टि–२० विश्व कपको उपाधि दिलाउने एक मात्र कप्तान हुन्। यद्यपी च्याम्पियन्स ट्रफीमा उनको प्रदर्शन त्यति गतिलो छैन्।

धोनीको उमेर अहिले ३५ वर्ष छ। उनी जुलाई ७ मा ३६ वर्षमा प्रवेश गर्नेछन्। २०१९ मा उनले विश्व कप खेले भने त्यतिबेला उनको उमेर ३८ वर्ष हुनेछ। फिटनेशलगायत थुप्रै कुराले गर्दा धोनीले सन्यास लिने अडकलबाजी पनि गरिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.