अस्ट्रेलिया र न्युजिल्यान्डको रोमाञ्चक खेल आज


अस्ट्रेलियाले आफ्नो घरेलु मैदानमा आयोजना हुने खेलमा न्युजिल्यान्डलाई हराउदै आइरहेको छ। न्युजिल्यान्डले पनि पछिल्लो प्रतियोगिताहरुमा अस्ट्रेलियालाई आफ्नो घरेलु मैदानमा विजय हुन दिएको छैन्।

यी दुई टोलीले पछिल्लो ६ महिनाको अवधिमा घर र घरबाहिर २ वटा च्यापल–हेडली प्रतियोगिता खेलिसकेका छन्। रोचक कुरा, अस्ट्रेलियाले आफ्नो देशमा भएको खेलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो। यस्तै, न्युजिल्यान्डले आफ्नो घरमा भएको प्रतियोगितामा अस्ट्रेलियालाई पराजित गर्यो।

यस्तो कीर्तिमानको बीच च्याम्पियन्स ट्रफीको समूह ‘ए’ को अर्को महत्वपूर्ण खेलमा कङ्गारु टोलीको रोचक भिडन्त आज किवी टोलीसँग न्युट्रल मैदानको रुपमा रहेको बेलायतको बिर्मिघममा हुँदैछ।

अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको यसअघिको २ वटा संस्करण जितेर आफूलाई अब्बल साबित गरिसकेको छ। न्युजिल्यान्डले पनि एक पल्ट उपाधि जितेको छ। आजको खेलमा अस्ट्रेलियालाई चोटग्रस्त आफ्ना ४ बलरको फिटनेश नै सबैभन्दा समस्याको रुपमा छ। अस्ट्रेलियाका ४ खतरनाक बलर मिचेल स्टार्क, जस हेजलउड, पाट कुमिन्स र जेम्स पाटिन्सन चोटका कारण पछिल्लो प्रतियोगिताहरुमा एकै पल्ट मैदानमा कमै देखिएका छन्। तर, विहिबारसम्म यी ४ जनै बलरको फिटनेश राम्रो रहेको बताइएको छ।

यस्तै, न्युजिल्यान्डमा पनि ट्रेन्ट बोल्ट र टिम साउथीजस्ता राम्रा स्विङ बलर छन्। अस्ट्रेलियालाई आज आफ्नो स्टार ब्याट्सम्यान डेभिड वार्नरबाट ठूलो आशा छ। आइपिएलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका वार्नरले २००९ यता इङ्ल्यान्डको मैदानमा सतक हान्न सकेका छैनन्। त्यसैले आज उनको उद्देश्य सतक बनाएर आफ्नो टोलीलाई जिताउनु पनि हुनेछ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आजको खेल आफ्नो टोलीका लागि निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन्। ब्याटिङ पीच मानिएको आजको खेलमा कोलिन डे ग्रान्डहोम, एडम मिल्ने र मिचेल म्याकलेघन मध्ये कसलाई खेलाउने भन्ने विषयमा कप्तान विलियम्सन असमञ्जसमा रहेको बताइएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.