अस्ट्रेलिया संकटमा, बंगलादेशसँग अंक बाँड्यो (म्याच हाइलाइट्ससहित)


बंगलादेशविरुद्ध जितको नजिक रहेको अस्ट्रेलियाले पुनः अंक बाँडेको छ। अस्ट्रेलियाको दोस्रो इनिङ वर्षाका कारण पुरै प्रभावित बन्न पुगेपछि अस्ट्रेलियाले यसपालिको च्याम्पियन्स ट्रफीको लगातार दुई खेलमा अंक बाँडेको हो।

यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा पनि कङ्गारुले वर्षाका कारण अंक बाँडेको थियो। सोमबार राती बंगलादेशले पहिलो इनिङमा बनाएको १ सय ८२ रनको चुनौतीलाई सहजै पुरा गर्ने बाटो नजिकै थियो, अस्ट्रेलिया। तर, १६ ओभरको खेलमा ड्रिग्स ब्रेक हुँदा ओवल मैदानमा पानी पर्न थालेको थियो। त्यो पानी अढाई घण्टासम्म नथामिएपछि खेललाई रद्ध गर्दै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ।

यो नतिजाले अस्ट्रेलियालाई सेमिफाइनल प्रवेशमा गम्भीर धक्का लाग्ने देखिन्छ। समूह ‘ए’ मा अर्को दुई बलियो टिम समावेश छ। इङ्ल्यान्ड र न्युजिल्यान्ड भोली अर्को खेल खेल्दैछन्। इङ्ल्यान्ड यसअघि नै बंगलादेशलाई हराएर समूहको शीर्ष स्थानमा छ।

सोमबारको खेलमा अस्ट्रेलियाली बलरको अगाडि दबाब महसुस गरेको बंगलादेशले ४४ दशमलव ३ ओभरमा १ सय ८२ रन बनाउदै सबै विकेट गुमाएको थियो। बंगलादेशको इनिङमा तमिम इक्बालले मात्र स्तरीय ब्याटिङ गरे। उनी नर्भस ९० को शिकार भए। उनले ९५ रन बनाए।

अस्ट्रेलियाबाट मिचेल स्टार्कले ४ विकेट लिँदै बंगाली ब्याट्सम्यानलाई दोस्रो स्पेलमा पुरै दबाबमा राखे। उनले एकै ओभरमा ३ विकेट लिएका थिए। स्पिनर एडम जाम्पाले २ विकेट लिए।

अस्ट्रेलियाले डेभिड वार्नरको अविजित ४० रनमा १६ ओभरमा १ विकेट गुमाउदै ८३ रन बनाइसकेको थियो। अस्ट्रेलियालाई जितका लागि ३४ ओभरमा सय रन आवश्यक थियो। त्यति नै बेला पानी परेको थियो। कप्तान स्टिभन स्मिथ (२२) सँग मिलेर वार्नरले अविजित ३८ रनको साझेदारी गरेका थिए। वार्नरले बंगलादेशविरुद्ध खेल्दै एकदिवसीयमा ४ हजार रन पुरा गरेका थिए। अस्ट्रेलियाका लागि आरोन फिन्चले १९ रन बनाए। रुबेल हुसेनले फिन्चको विकेट लिएका थिए। याे नतिजापछि ब‌गलादेश बाहिरिनबाट जाेगिएकाे छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.