कसले जित्ला, च्याम्पियन्स ट्रफी?

LONDON, ENGLAND - MAY 30: Cricket Captains AB De Villiers, Virat Kohl, Eoin Morgan and Mashrafe Mortaza during the ICC Champions Dinner at Lancaster House on May 30, 2017 in London, England. (Photo by Eamonn McCormack-IDI/IDI via Getty Images)


भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड र अफ्रिकाको सम्भावना

विश्व कप क्रिकेटपछि निकै महत्वपूर्ण मानिने च्याम्पियन्स ट्रफीको आठौं संस्करण भोलीदेखि इङ्ल्यान्डको चर्चित ओभल मैदानमा सुरु हुँदैछ। एकदिवसीय क्रिकेटको शीर्ष ८ स्थानमा रहेका देशहरुबीच आयोजना हुन लागेको यो प्रतियोगितालाई मिनी विश्व कप पनि भनिन्छ।

भोली आयोजक इङ्ल्यान्डले बंगलादेशविरुद्ध उद्घाटन खेल खेलेपछि आठौं संस्करण आफ्नो कब्जामा पार्न विश्व चर्चित टिमहरुबीच प्रतिस्पर्धा सुरु हुनेछ। यसपालि समूह ‘ए’ मा इङ्ल्यान्डलगायत अस्ट्रेलिया, न्युजिल्यान्ड र बंगलादेश समावेश छन्।

बंगलादेश २००६ पछि पुनः च्याम्पियन्स ट्रफीमा समावेश भएको हो। २०१५ को सेप्टेम्बर अन्त्यमा वेष्ट इन्डिज एकदिवसीय वरियतामा आठौं स्थानभन्दा माथि पुगेपछि बंगलादेशले यो मौका पाएको हो। सन् २००४ को विजेता वेष्ट इन्डिज पहिलो पल्ट च्याम्पियन्स ट्रफीबाट बाहिर छ।

यसपालि सबैभन्दा गाह्रो समूह भारत, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका समावेश समूह ‘बी’ लाई मानिएको छ। यो समूहमा ३ वटा विजेता टिम समावेश छन्। पाकिस्तानबाहेक भारत, दक्षिण अफ्रिका र श्रीलंकाले च्याम्पियन्स ट्रफीको उपाधि जितिसकेका छन्।

भारतले २००२ र २०१३ गरी २ पल्ट प्रतियोगिताको उपाधि जितिसकेको छ। भारत च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पनि हो। २०१३ पछि यो प्रतियोगिता भइरहेको छ।

यसपालि पनि उपाधिको दावेदार भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र इङ्ल्यान्डलाई मानिएको छ। अस्ट्रेलियाले पनि २००६ र २००९ मा गरी लगातार २ पल्ट उपाधि जितेको छ। दक्षिण अफ्रिकाले १९९८ मा बंगलादेशबाट सुरु भएको यो प्रतियोगिताको पहिलो संस्करण नै जितेको थियो। त्यसयता अफ्रिका फाइनलमा पनि पुग्न सकेको छ्रैन्।

विश्व क्रिकेटमा अभागी टोलीको उपमा पाएपनि यसपालि एबी डीभिलियर्स, क्वान्टन डी कोक, फाप डुप्लेसिस र हासिम अमलाजस्ता खारिएका ब्याट्सम्यान र केसिगो रबादा र इमरान ताहिरजस्ता क्षमतावान बलरका कारण अफ्रिकाको सम्भावनालाई लिएर अड्कल काँटिएको छ।

इङल्यान्डले विश्व कप मात्र होइन, च्याम्पियन्स ट्रफीको उपाधि पनि जितेको छैन्। तर, आफ्नो देशमा आयोजना हुन लागेको प्रतियोगिताका कारण घरेलु टोली निकै उत्साही छ। इङ्ल्यान्ड २००४ र २०१३ मा आफ्नै घरेलु मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएको थियो। त्यसैले तेस्रो पल्ट आफ्नो घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताबाट घरेलु टोलीले ठूलो आशा राखेको छ।

च्याम्पियन्स ट्रफीभन्दा अगाडि दक्षिण अफ्रिकाविरुद्ध ३ एकदिवसीयको शृंखला २–१ ले जितेको इङ्लिस टोली इयोन मोर्गनको कप्तानीमा उत्साही देखिन्छ। भर्खरै भारतमा समाप्त भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा अलराउन्डर बेन स्टोक्सको उत्साहजनक प्रदर्शनबाट पनि इङ्लिस टोली निकै आशावादी छ।

अस्ट्रेलिया जहिले पनि प्रतियोगिताको दावेदार हो। स्टिभन स्मिथको कप्तानीमा रहेको कङ्गारु टोलीमा डेभिड वार्नर र आरोन फिन्चजस्ता उत्कृष्ट ब्याटिङ जोडी र मिचेल स्टार्कजस्ता घातक बलर समावेश छन्।

भारतीय टोली कप्तान विराट कोहलीको ब्याटिङमा निकै विश्वस्त देखिन्छ। टोलीमा रोहित शर्मा र शिखर धवनजस्ता अनुभवी प्रारम्भिक जोडी, अजिङ्क रहाणेजस्ता ब्याट्सम्यान र हार्दिक पाण्ड्या तथा रवीन्द्र जडेजाजस्ता प्रभावशाली अलराउन्डर समावेश छन्।

गत साता म्यानचेस्टरमा भएको आत्मघाती बिस्फोटनका कारण बेलायती सरकारले सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.