रुटको उत्कृष्ट शतकपछि इङ्ल्यान्डको विजयी सुरुवात (भिडियो)


इङ्ल्यान्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ। बंगलादेशले पहिलो इनिङमा ६ विकेटको क्षतिमा बनाएको ३ सय ५ रनको लक्ष्यलाई घरेलु टोलीले १६ बल खेल्न बाँकी रहँदै पुरा गर्यो।

इङ्ल्यान्डको जितमा जोए रुट नायक साबित भए। उनले एकदिवसीय क्रिकेटमा आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा इङ्ल्यान्डलाई पहिलो जित दिलाए।

रुटले १ सय २९ बलमा ११ चौका र १ छक्काको सहयोगले १ सय ३३ रन बनाए। उनले दुई पल्ट १ सय ४० भन्दा बढिको साझेदारी गरे। उनले दोस्रो विकेटका लागि पहिले एलेक्स हल्ससँग मिलेर १ सय ५९ रन तथा तेस्रो विकेटका लागि कप्तान इयोन मोर्गनसँग मिलेर अविजित १ सय ४३ रनको साझेदारी गरे।

इङ्ल्यान्डले ६ रनको स्थितिमा जेसोन रोयलाई गुमाएको अवस्थामा रुटले उत्कृष्ट इनिङ खेले।

उनको इनिङका कारण बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान तमिम इक्बालको १ सय २८ रनको अर्को उत्कृष्ट इनिङ ओझलमा पर्यो। इङ्ल्यान्डका लागि हल्सले ९५ रन बनाए। मोर्गन ७५ रन बनाउदै अविजित रहे। इङ्ल्यान्डले ४७ दशमलव २ बलमा ३ सय ८ रन बनाएको थियो।

यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि तमिम बाहेक मुस्फिकर रहिमले ७९ रन बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.