अन्तिम ४ ओभरमा ७२ रन जोडेको भारतले पाकिस्तानविरुद्ध च्याम्पिन्स ट्रफीको पहिलो खेलमा ३ विकेट गुमाएर विशाल ३ सय १९ रन बनाएको छ। वर्षाले ४८ ओभरमा झारिएको यस खेलमा पाकिस्तानले जितका लागि ३ सय २० रन बनाउनु पर्ने थियाे। तर डकवथ एन्ड लुइस नियमकाे अाधारमा पाकिस्तानले ३ सय २४ रनकाे नयाँ लक्ष्य पाएकाे छ।
भारतीय इनिङमा ४ शीर्ष ब्याट्सम्यानले अर्धसतक पुरा गरे। यो भारतीय क्रिकेटमा तेस्रो अवसर थियो, भारतका ४ शीर्ष ब्याट्सम्यानले एउटै खेलमा अर्धसतक बनाएको।
भारतका लागि रोहित शर्मा र शिखर धवनको प्रारम्भिक जोडीले इनिङको सुरुवात ढिलो गरेका थिए। भारतले ५० रन जोड्न १० ओभर ४ बल खर्चिनु परेको थियो। तर, त्यसपछि यो प्रारम्भिक जोडीले च्याम्पियन्स ट्रफीमा तेस्रो सतकीय इनिङको कीर्तिमान राखेपछि भारतले गतिलो सुरुवात पाएको थियो। यो जोडीले १ सय ३६ रनको सतकीय साझेदारी गरेको थियो।
भारतका लागि शिखर धवनले ६८, रोहित शर्माले ९१, विराट कोहलीले अविजित ८१ र युवराज सिंहले ५३ रनको अर्धसतकीय इनिङ खेलेका थिए। हार्दिक पाण्ड्याले अन्तिम ओभरमा बिस्फोटक ब्याटिङ गर्दै एउटै ओभरको अघिल्लो ३ बलमा ३ छक्का प्रहार गरेका थिए। उनले अविजित रहँदै ८ बलमा २० रन बनाए।
भारतीय इनिङमा रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि ५६, युवराज सिंह र विराटले तेस्रो विकेटका लागि ९३ र विराट र पाण्ड्याको चौथो विकेटको जोडीले अविजित३४ रनको साझेदारी गरेको थियो।
भारतले २२ देखि ३५ ओभरको बीचमा १४ ओभरभित्र १७ रन मात्र बनाएको थियो। तर, युवराज र विराटले ९ दशमलव ६२ को औसतले ९ दशमलव ४ ओभरमा ९३ रनको साझेदारी गरेपछि भारत ठूलो योगफलतर्फ अग्रसर भएको थियो। विराट र पाण्ड्याले अन्तिम १० बलमा ३४ रनको साझेदारी गरेका थिए।
युवराज र विराट आजको खेलमा भाग्यमानी सावित भए। यी दुवैको क्याच पाकिस्तानी फिल्डरले छोडेका थिए। वाहव रियाज आज निकै महंगो सावित भए। १० भन्दा माथिको औसतले ८ दशमलव ४ ओभरमा ८७ रन खर्चेका थिए।