क्रिकेटको सबैभन्दा रोमाञ्चक खेल आज, भारत र पाकिस्तान २ वर्ष ३ महिनापछि भिड्दै


अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठूलो खेल भारत–पाकिस्तानबीच आज बेलायतको बर्मिङ्घममा च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को खेल हुँदैछ। नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुने यो खेलमा विश्वभरिका करोडौं दर्शकको आँखा गडिएको छ।

दुई देशबीचको तनावका कारण यी टोली २ वर्ष ३ महिना १७ दिनपछि एक अर्कासँग भिड्न मैदानमा उत्रिँदैछन्। त्यसैले आजको खेलमा विश्वभरिका क्रिकेट समर्थकको आँखा बर्मिङ्घमको एडबस्टन रंगशालामा हुनेछ।

दुवै टोलीबीच एडबस्टनमा तेस्रो पल्ट खेल हुन लागेको हो। यसअघि २००४ र २०१३ मा पनि विश्व क्रिकेटका दुई परस्पर विरोधी टोलीबीच भिडन्त भएको थियो। यसमा एउटा खेल भारत र अर्को खेल पाकिस्तानले जितेको छ।

त्यसैले आजको खेललाई धेरैले दुई देशबीचको अग्निी–परीक्षाको रुपमा लिएका छन्। भारत र पाकिस्तानले क्रिकेट मैदानमा अन्तिम भेट २०१५ को विश्व कपमा अस्ट्रेलियाको एडिलेटमा भएको थियो। यस खेलमा भारत ७६ रनले विजयी भएको थियो।

यस खेलमा भारतीय कप्तान विराट कोहलीले उत्कृष्ट १ सय ७ रन बनाएका थिए। भारत च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पनि हो। भारतले २०१३ मा बर्मिङ्घममै इङ्ल्यान्डलाई फाइनलमा ५ रनले पराजित गरेको थियो।

भारतलाई यसपालिको च्याम्पियन्स ट्रफीको विजेताको मुख्य दावेदार पनि मानिएको छ। तर, पाकिस्तानविरुद्ध भारतको च्याम्पियन्स ट्रफीमा विगतको प्रदर्शन त्यति राम्रो छैन्। अहिलेसम्म यी दुई टोलीबीच ३ पल्ट भिडन्त भएको छ। जसमा पाकिस्तान २ पल्ट र भारत १ पल्ट मात्र विजयी भएको छ।

मिनी विश्व कपको रुपमा रहेको च्याम्पियन्स ट्रफीअन्तर्गत २००४ मा यी दुई देशबीच पहिलो भिडन्त भएको थियो। जसमा पाकिस्तान ३ विकेटले विजयी भयो। यस खेलमा मोहम्मद युसुफले ८१ रन बनाएर पाकिस्तानलाई विजय दिलाएका थिए।

यी दुई देशबीच २००९ मा दक्षिण अफ्रिकाको सेन्चुरियन पार्कमा दोस्रो खेल भएको थियो। यस खेलमा पनि पाकिस्तान ५४ रनले विजयी भयो। पाकिस्तानका शोएब मलिकले त्यो खेलमा सतक बनाएका थिए।

२०१३ मा भएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको भारतले बर्मिङ्घममा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।

यतिबेला भारतीय टोली विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिँदैछ। पाकिस्तानले आफ्नो प्रमुख योजनाको रुपमा विराटलाई छिट्टै आउट गर्ने रणनीति बनाएको छ।

पाकिस्तानी कप्तान सरफाज अहमदले खेल सुरु हुनभन्दा अघि अन्तर्वार्तामा भनिसकेका छन्, पाकिस्तानको उद्देश्य भारतीय कप्तानलाई अंकुश लगाउनु हुनेछ। उनले विगत केही वर्षयता देखि विराट राम्रो क्रिकेट खेलिरहेको र भारतीय टोली आफ्नो कप्तानसँग बढि निहित रहने गरेको बताएका छन्।

एकदिवसीय क्रिकेटमा पाकिस्तानको प्रदर्शन भारतविरुद्ध राम्रो छ। दुवै टिमले एक–अर्काविरुद्ध १ सय २७ खेल खेलेका छन्। जसमा ७२ खेल पाकिस्तान र ५१ खेल भारतले जितेको छ। ४ खेलको नतिजा निस्किएको छैन्। २००६ र २०१५ को बीच दुवै टोलीबीच २५ एकदिवसीय खेल भएको थियो। जसमा भारतले १५ र पाकिस्तानले ९ खेल जितेका छन्।

भारतीय कप्तान विराट कोहलीले पनि पाकिस्तानविरुद्ध आफ्नो टोली राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन्।

एजेन्सीहरुकाे सहयाेगमा

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.