स्टार ब्याट्सम्यानले भरिएको अफ्रिकालाई चुनौती दिन श्रीलंका आज मैदानमा उत्रिँदै


च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अगाडि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले उत्कृष्ट एकदिवसीय खेलाडीको सूची सार्वजनिक गरेको थियो। जसमा ब्याटिङतर्फ शीर्ष १० स्थानमा दक्षिण अफ्रिकाका ४ खेलाडी समावेश थिए।

यसको अनुपातमा श्रीलंकाका एक मात्र खेलाडी एञ्जेलो म्याथ्युसले २६ औं नम्बरमा स्थान बनाएका थिए। तर, आज दक्षिण अफ्रिकाविरुद्ध हुने च्याम्पियन्स ट्रफीको पहिलो खेलमा श्रीलंकाली कप्तान फिटनेशका कारण खेल्नेमा अझै रहस्य बनेको छ।

दक्षिण अफ्रिका र श्रीलंका समूह ‘बी’ को पहिलो खेलका लागि दिउँसो सवा ३ बजे ओवल मैदानमा उत्रिँदै छन्। अफ्रिकाको तुलनामा यसपालि श्रीलंकाली टोलीलाई कमजोर आँकिएको छ। तर, च्याम्पियन्स ट्रफीको विगतको प्रदर्शन हेर्दा श्रीलंका बलियो देखिन्छ। युवा खेलाडी सहभागी श्रीलंका कुनै पनि बेला आश्चर्यजनक नतिजा निकाल्न सक्षम मानिन्छ।

ब्याट्सम्यान उपुल थरङ्गा पनि अहिलेको अवस्था हेर्दा दक्षिण अफ्रिका बलियो देखिएपनि नतिजा निकाल्न आफूहरु सक्षम रहेको बताउँछन्। श्रीलंकाका अनुभवी बलर लासिथ मलिङ्गा पनि खेल्ने विषयमा रहस्य बनिरहेको छ। उनी पनि फिटनेशको समस्यामा छन्।

श्रीलंकन टिममा सुरंगा लकमल,लक्सान सान्दाकान, कुसल मेन्डिस र निरोसान डिकवेलाजस्ता प्रतिभाशाली खेलाडी नभएका होइनन्। तर, अनुभवको कमीका कारण उनीहरु आशा अनुरुप प्रदर्शन गर्न सकिरहेका छैनन्। लकमल बलिङतर्फ विश्व वरियतामा २४ नम्बरमा छन्।

श्रीलंकाले च्याम्पियन्स ट्रफीमा पछिल्लो समय अफ्रिकालाई २००९ मा सेन्चुरियनमा ५५ रनले पराजित गरेको थियो। नुवान कुल्सेकरा एकदिवसीयमा २ सय विकेटको नजिक छन्। त्यसैले उनका लागि आजको खेल निकै महत्वपूर्ण छ।

कप्तान डीभिलियर्सलगायत हासिम अमला, क्वान्टन डि कोक, फाप डुप्लेसिसजस्ता विश्वस्तरीय ब्याट्सम्यान समावेश रहेको अफ्रिकी टोलीमा कागिसो रबादा र इमरान ताहिरजस्ता खतरनाक बलर पनि छन्। यी दुवै भर्खरै सार्वजनिक विश्व वरियतामा पहिलो र दोस्रो नम्बरमा परेका थिए।

ताहिर चोटका कारण इङ्ल्यान्डविरुद्ध ३ एकदिवसीय शृंखलामा टिममा समावेश थिएनन्। तर, उनी आजको खेलमा फर्किने सम्भावना बलियो छ। उनको आगमन श्रीलंकाली टोलीलाई महंगो सावित हुन सक्छ। किनभने उनले श्रीलंकाविरुद्ध ९ खेलमा २० विकेट लिइसकेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.