वर्षा भिलेन बनेपछि अस्ट्रेलिया र न्युजिल्यान्डले अंक बाँडे


अस्ट्रेलिया र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित बन्न पुगेको छ। जितका लागि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ९ ओभरमा ५३ रन जोड्ने क्रममा डेभिड वार्नर, एरोन फिन्च र मोइसेस हेनरिकेसजस्ता ब्याट्सम्यान गुमाइसकेको थियो। तर, तेस्रो पल्ट वर्षाले खेल प्रभावित तुल्याएपछि म्याच रेफ्रिले केही समय कुरेर खेललाई अनिर्णीत घोषणा गरे।

यसले दबाबमा देखिएको अस्ट्रेलियालाई राहत महसुस भएको छ। दुवै टोलीले १–१ अंक बाँडेका छन्। यसअघि २०१३ मा पनि एजबस्टनमा वर्षाका कारण खेल प्रभावित बनेको थियो।

शुक्रबारको खेल तीन पल्ट वर्षाले प्रभावित तुल्यायो। टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डको इनिङमा पनि पानी परेको थियो। जसका कारण ५० ओभरको खेललाई ४६ मा झार्नु परेको थियो।

न्युजिल्यान्डले कप्तान केन विलियम्सनले सतक बनाएका थिए। उनको कप्तानी इनिङका कारण न्युजिल्यान्डले गतिलो सुरुवात गरेको थियो। तर, पछिल्लो ६ ओभरमा ७ विकेट गुमाएपछि न्युजिल्यान्डको ३ सयभन्दा माथिको योगफल बनाउने योजनामा तुसारापात भयो।

अस्ट्रे्लियाका जस हेजलउडले ६ विकेट लिँदै न्युजिल्यान्डलाई ठूलो योगफलतर्फ बढ्न दिएनन्। उनी च्याम्पियन्स ट्रफीको एउटै खेलमा सर्वाधिक विकेट लिने दोस्रो कीर्तिमानी बलर बने। यसअघि श्रीलंकाली बलर महरुफले वेष्ट इन्डिजविरुद्ध ६ विकेट लिएका थिए।

केन विलियम्सनबाहेक न्युजिल्यान्डको टिममा लुक रोञ्चीले ६५ रन बनाए। रोस टेलरले पनि ४६ रनको उत्कृष्ट इनिङ खेले। विलियम्सन र टेलरले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए। यो जोडी पछिल्लो ४ एकदिवसीयमा १ सय रनभन्दा माथिको साझेदारी गर्नबाट चुकेको हो। यसअघि ३ एकदिवसीयमा उनीहरुले सतकीय साझेदारी गरेका थिए।

ग्लेन म्याक्सवेलले ४ महत्वपूर्ण क्याच समातेका थिए। न्युजिल्यान्डले ४५ ओभरमा सबै विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो। दोस्रो इनिङको खेल सुरु हुनुभन्दा अघि पुनः पानी परेको थियो। जसका कारण अस्ट्रेलियाले ३३ ओभरमा नयाँ लक्ष्य प्राप्त गरेको थियो। तर, ९ ओभरको खेल सकिँदा पुनः पानी पर्न सुरु भयो। जसका कारण खेल नै हुन सकेन्।

अस्ट्रेलियाविरुद्ध डेभिड मिल्नेले २ विकेट लिएका थिए। वार्नरको महत्वपूर्ण विकेट ट्रेन्ट बोल्टले लिए। अस्ट्रेलियाले ९ ओभरपछि खेल रोकिदा ३ विकेटको क्षतिमा ५३ रन बनाएको थियो। वार्नर र हेनरिकेसले समान १८ र फिन्चले ८ रन बनाएर आउट भए। कप्तान स्टिभन स्थिम ८ रनमा अविजित थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.