फखर र मोहम्मद आमिर चम्केपछि पाकिस्तानलाई २५ वर्षपछि महत्वपूर्ण उपाधि


उपाधिको दाबेदार मानिएको डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले विशाल अन्तरले पराजित गर्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि पहिलो पल्ट जितेको छ। पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमा अलआउट भयो।

यो जितसँगै पाकिस्तानले २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि आफ्नो घर भित्र्याएको छ। सन् १९९२ मा इमरान खानको कप्तानीमा एकदिवसीय विश्व कपको उपाधि जितेयता पाकिस्तानले आइसिसीको ५० ओभरको महत्वपूर्ण प्रतियोगिता जितेको थिएन।

पाकिस्तानी कप्तान सरफराज अहमदको नेतृत्वमा पाकिस्तानले सन् २००६ को युथ–१९ विश्व कप पनि जितेको थियो। पाकिस्तान समूह चरणको खेलमा आफ्नो चिरप्रतिद्वन्दी भारतसँग १ सय २४ रनले पराजित भएको थियो। तर, फाइनलमा पाकिस्तान समूह चरणको खेल मात्र होइन, सन् २००७ को टि–२० विश्व कपको भारतबाट फाइनलमा ५ रनले पराजित भएको १० वर्ष पुरानो बदला लिन पनि सफल भएको छ।

भारतको हारमा आइतबार पाकिस्तानका दुई खेलाडी विशेष रहे। टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले उत्कृष्ट ब्याटिङ गरे। बलिङतर्फ पाकिस्तानका देब्रे हाते स्विङ बलर मोहम्मद आमिर घातक सावित भए। उनको बललाई भारतका तीन प्रमुख ब्याट्सम्यानले पढ्न नसक्दा लज्जास्पद पराजय भोग्नु पर्यो।

भारतीय कप्तान विराट कोहलीले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएका थिए। तर, उनको निर्णय विपरित भारतीय बलरले अनुशाषनहीन बलिङ गरे। पुरै इनिङमा २५ अतिरिक्त बल फयाँकेका भारतीय बलरविरुद्ध ४ एकदिवसीय खेलिरहेका फखर जमानले उत्कृष्ट ब्याटिङ गरे। उनले पहिलो एकदिवसीय सतकको रुपमा १ सय १४ रन बनाएपछि भारतीय बलरको अवस्था दयनीय बनेको थियो।

३ रनमा जसप्रित बुमराहले उनलाई आउट गरेपनि त्यो नोबल थियो। भारतको दूर्भाग्य यहीबाट सुरु भयो। फखरले पहिलो विकेटका लागि अजहर अलीसँग मिलेर १ सय २८ रन सतकीय साझेदारी गरेका थिए। अजहरले ५९ रन बनाए। फखरले दोस्रो विकेटका लागि बाबर आजमसँग मिलेर ७२ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए। बाबर ४६ रनमा आउट भए। मोहम्मद हाफिज र इमाद वासिमले पाँचौ विकेटका लागि थप ७१ रनको अविजित साझेदारी गरेपछि पाकिस्तानले भारतविरुद्ध एकदिवसीयमा अहिलेसम्मकै सर्वाधिक ठूलो लक्ष्य राख्यो। हाफिज ३७ बलमा ३ छक्का र ४ चौकासहित ५७ रन बनाएर अविजित रहे। इमाद पनि २५ रनमा अविजित रहे।

प्रत्युत्तरमा भारतका ३ प्रमुख ब्याट्सम्यान रोहित शर्मा, शिखर धवन र कप्तान विराट कोहली मोहम्मद आमिरको बलमा छिटो आउट भए। ३३ रनको स्थितिमा यी तीन ब्याट्सम्यानलाई आमिरले पवेलियनको बाटो देखाएका थिए। यसअघि यी तीन ब्याट्सम्यान मिलेर पाकिस्तानले प्रतियोगितामा विपक्षी टोलीसँग बनाएको योगफलभन्दा बढि रन बनाएका थिए।

तर, फाइनलमा आमिरले रोहित शर्मा (०)लाई पहिलो ओभरको तेस्रो बलमै एलबिडब्लु, कोहली (५) लाई दोस्रो ओभरको चौथो बलमा सदाव खानद्धारा क्याच र धवन (२१) लाई नवौं ओभरमा कप्तान सरफराज अहमदबाट विकेट पछाडि क्याच आउट गराए। उनी ढाडको समस्याका कारण इङ्ल्यान्डविरुद्धको खेलमा मैदान बाहिर थिए। फाइनलमा फर्किएका आमिरले ६ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए।

पाकिस्तानविरुद्ध समूह चरणको खेलमा अर्धसतक बनाएका अर्का ब्याट्सम्यान युवराज सिंह (२२ ) पनि सदाव खानको बलमा एलबिडब्लुको सिकार बन्नु भारतको अर्को दूर्भाग्य बन्यो। पूर्व कप्तान महेन्द्रसिंह धोनी ४ रनमा हसन अलीको शिकार भए। ७२ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा भारतका लागि हार्दिक पाण्ड्याले ६ छक्काको सहयोगले ४३ बलमा ७६ रन बनाउदै खेललाई केही लम्ब्याउने प्रयास गरेका थिए। तर, उनी रन आउट हुने वित्तिकै भारत समेटियो।

आइसिसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा अहिलेसम्म कुनै टिम १ सय ८० रनको फरकमा हारेको छैन्। पाकिस्तानले भारतलाई यसको स्वाद पनि चखाएको छ।

फाइनल खेलको म्यान अफ दि म्याच फखर जमान घोषित भए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.