च्याम्पियन्स ट्रफिमा आजसम्म भारत-पाकिस्तान बराबर


केहीबेरमा च्याम्पियन्स ट्रफिको फाइनलमा भिड्न लागेका भारत र पाकिस्तानले यसअघि यो प्रतियोगितामा बराबर खेल जितेका छन्। च्याम्पियन्स ट्रफिमा यसअघि यी दुई चीरप्रतिद्वन्द्वीबीच चार वटा भेट भएको छ। जसमा भारतले दुई र पाकिस्तानले दुई खेल जितेका छन्।

२००४ को च्याम्पियन्स ट्रफिमा भारत र पाकिस्तानको पहिलो भेट भएको थियो, जसमा पाकिस्तानले बाजी मार्यो। ईंग्ल्याण्डमा नै भएको यो प्रतियोगितामा दुवै टिम समूह ‘सि’मा परेका थिए। समूह चरणको खेलमा पहिले ब्याटिङ गरेको भारतले १ बल बाँकी छँदा सबै विकेट गुमाएर २०० रन बनाएको थियो। पाकिस्तानले यो खेल ३ विकेटले जित्यो। ४९ ओभर २ बलमा ७ विकेट गुमाएर पाकिस्तानले लक्ष्य पुरा गरेको थियो।

अर्को भेट सन् २००९को च्याम्पियन्स ट्रफीमा भएको थियो। दक्षिण अफ्रिकामा भएको यो प्रतियोगितामा दुवै टोलि समूह ‘ए’मा थिए।  यो भेटमा पनि भारत पाकिस्तानसँग ५४ रनले पारजित भएको थियो।

सन् २०१३मा इंगल्याण्ड र वेल्सले आयोजना गरको च्याम्पियन्स ट्रफीमा यी दुई टोलीको तेस्रो भेट भएको थियो। यो खेलमा भारतले यसअघिको इतिहास बदल्दै च्याम्पियन्स ट्रफीमा पाकिस्तानविरूद्ध पहिलो जित हात पार्‍यो। पानी परेर प्रभावित भएको खेलमा भारतले डकवर्थ लेविस नियमका आधारमा ८ विकेटको जित दर्ता गर्‍यो।

यी दुई टोलिको चौथो भेट भने यही प्रतियोगिताको समूहचरणमा भएको थियो। यसमा भारतले पाकिस्तानले १२४ रनले हराउँदै इतिहास बराबरी गर्‍यो।

च्याम्पियन्स ट्रफीमा यसअघि दुई-दुई खेल जितेका दुई टोलि केहीबेरमा प्रतियोगिताको उपाधिका लागि  आमुन्नेसामुन्ने हुँदैछन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.