कप्तान सरफराजका मामाले पाकिस्तानको समर्थन नगर्ने


च्याम्पियन्स ट्रफीको उपाधिका लागि आइतबार दुई परस्पर विरोधी देश भारत र पाकिस्तान लन्डनको ओवल मैदानमा उत्रिँदैछन्। त्यसैले दुवै देशका समर्थक अहिले आफ्नो देशलाई समर्थन गर्न नयाँ र नौलो तरिकाको खोजी गरिरहेका छन्।

तर रमाइलो खबर, भारतीय मिडियाबाट भर्खरै आएको छ। पाकिस्तानी कप्तान सरफराज अहमदका मामा आफ्नो भाञ्जाको लागि नभई भारतीय खेलाडीको जितका लागि प्रार्थना गरिरहेका छन्।

सरफराज अहमदको मामा घर भारतको उत्तर प्रदेशस्थित इटावामा पर्छ। यहाँ उनका मामा महबुब हसन बसोबास गर्ने गर्छन्। उनी इटावाको कृषि इन्जिनियरिङ कलेजमा कार्यरत छन्। उनले आइतबार भारत र पाकिस्तानबीच फाइनल खेल हुनुपूर्व भारतीय संचारमाध्यमलाई आफू विराट कोहलीको ठूलो प्रंशसक रहेको त्यसैले पाकिस्तानकाे जितका लागि प्रार्थना नगर्ने बताएका छन्।

उनले अहिले भारतीय टिमले उत्कृष्ट क्रिकेट खेलिरहेको र उपाधिको हकदार पनि भारत रहेको प्रतिक्रिया दिए। ‘पाकिस्तानी टिमका कप्तान मेरो भाञ्जा अवश्य हुन्। उनी राम्रो क्रिकेटर पनि हुन्। मेरो आर्शिवाद छ, उनले भोली राम्रो खेलुनँ। तर, भारतले जितेको हेर्न चाहन्छु,’ उनले भने। उनले आफ्नो भाञ्जाको क्षमतामाथि प्रश्न उठाउने पाकिस्तानका पूर्व क्रिकेटरको विरोध गरे। उनले यसलाई राजनीतिक प्रेरित भन्दै विरोध जनाए।

पाकिस्तानका पूर्व ब्याट्सम्यान आमिर सोहेलले श्रीलंकाविरुद्धको खेल ‘फिक्सिङ’ भएको आरोप लगाएका थिए।
कराची निवासी आफ्नो भाञ्जासँग ५० वर्षीय महबुब हसनको ३ पल्ट भेट भएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.