मोहम्मद आमिरको ठूलो प्रतिक्रिया, भारतीय कप्तान दबाबमा


दुई परस्पर विरोधी देश भारत र पाकिस्तान आइतबार मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफीको उपाधिका लागि फाइनलमा भिड्दै छन्। यी दुई देश उपाधिका लागि मैदानमा उत्रिनुअघि नै खेलाडीहरु बीच एकआपसमा टिका–टिप्पणी गर्ने क्रम सुरु भएको छ।

चोटबाट फर्किएका पाकिस्तानी बलर मोहम्मद आमिरले भारतीय कप्तान विराट कोहलीको विषयमा ठूलो प्रतिक्रिया दिएका छन्। उनले भोलीको खेलमा भारतीय टोली पूर्णत विराट कोहलीसँग निर्भर रहने र विराट ठूलो प्रतियोगिताको फाइनलमा पहिलो पल्ट कप्तानी गरिरहेको हुनाले दबाबमा रहने प्रतिक्रिया दिएका छन्।

‘यसमा कुनै शंका छैन्। भोलीको खेलमा उनी दबाबमा हुनेछन्। कप्तानको रुपमा उनको यो पहिलो ठूलो प्रतियोगिताको फाइनलमा हो,’आमिरले भने, ‘विराटलाई छिटो आउट गरेको खण्डमा यसको फाइदा पाकिस्तानी टिमलाई हुनेछ।’

ढाडको समस्याका कारण आमिरले अन्तिम मिनेटमा इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलबाट नाम फिर्ता लिएका थिए। उनी पूर्णरुपले स्वास्थ्य भएर शुक्रबार अभ्यास सत्रमा फर्किएका छन्।

पाकिस्तानका बलिङ प्रशिक्षक अजहर महमुदले आमिर पूर्ण रुपमा स्वास्थ्य भएको र उनी भारतविरुद्धको फाइनलमा मैदानमा उत्रिन सक्ने जानकारी दिएका छन्। आमिरले श्रीलंकाविरुद्ध निर्णायक खेलमा कप्तान सरफराज अहमदसँग मिलेर उत्कृष्ट साझेदारी गरेका थिए। जसका कारण पाकिस्तान ३ विकेटले विजयी भएको थियो। दुवैले आठौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरेका थिए। जसमा आमिरको अविजित २८ रनको योगदान थियो। उनले २ विकेट पनि लिएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.