भारतका ३ ब्याट्सम्यान पाकिस्तानविरुद्ध चुनौती


दुई परस्पर विरोधी टिम भारत र पाकिस्तान आइतबार च्याम्पियन्स ट्रफीको उपाधिका लागि फाइनलमा एक अर्कासँग भिड्दै छन्। भारतले यो प्रतियोगितामा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ। यस्तै पाकिस्तानले उत्कृष्ट बलिङ गर्दै आइरहेको छ।

भारतका ३ ब्याट्सम्यानले यसपालिको च्याम्पियन्स ट्रफीमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन्। यी ३ ब्याट्सम्यानले बनाएको रनलाई जोड्दा पाकिस्तानले प्रतियोगिता अवधिमा बनाएको रनभन्दा बढि देखिएको छ।

भारतीय ब्याट्सम्यान शिखर धवन, रोहित शर्मा र कप्तान विराट कोहलीले ४ खेलमा कूल ८ सय ७४ रन बनाएका छन्। पाकिस्तानको पुरै टिमले ४ खेलमा कूल ७ सय ३५ रन मात्र बनाएको छ।

यसैले आइतबार हुने फाइनल खेलमा पाकिस्तानी बलरको अगाडि यी ३ ब्याट्सम्यान नै मुख्य चुनौतीको रुपमा अगाडि देखिएका छन्। शिखरले प्रतियोगिताको ४ खेलमा सर्वाधिक ३ सय १७ रन, रोहित शर्माले ३ सय ४ रन र विराटले २ सय ५३ रन बनाएका छन्।

पाकिस्तानले भारतविरुद्ध पहिलो खेलमा १ सय ६४, दोस्रो खेलमा १ सय १९, तेस्रो खेलमा २ सय ३७ र चौथो खेलमा २ सय १५ रन बनाएको थियो।
पाकिस्तानबाट अहिलेसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा अजहर अली छन्। उनले ४ खेलमा कूल १ सय ६९ रन बनाएका छन्। दोस्रो नम्बरमा फखहर जमान छन्। जसले ३ खेलमा १ सय ३८ रन बनाएका छन्।

समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध भारतले पहिलो ब्याटिङ गर्दै ३ सय १९ रन बनाएको थियो। जसमा धवन, रोहित, विराट र युवराज सिंहले अर्धसतक बनाएका थिए। प्रत्युत्तरमा पाकिस्तानले ३३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। त्यो खेल डकवर्थ एन्ड लुइस नियमको आधारमा पाकिस्तान १ सय २४ रनले पराजित भएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.