भारत र बंगलादेशको रोमाञ्चक सेमिफाइनल आज, बंगाली टोलीलाई बदला लिने मौका


च्याम्पियन्स ट्रफीको दोसो सेमिफाइनलअन्तर्गत आज डिफेन्डिङ च्याम्पियन भारत र पहिलो पल्ट सेमिफाइनलमा पुगेको बंगलादेशबीच भिडन्त हुँदैछ।

बर्मिघमको एडबस्टनमा दिउँसो सवा ३ बजे सुरु हुने यो खेलमा थुप्रै क्रिकेट प्रेमिको चासो छ। किनभने बंगलादेश पहिलो पल्ट च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशको लागि प्रयास गर्नेछ भने भारत आजको खेल जितेर आफ्नो चिरप्रतिद्वन्दी पाकिस्तानसँग उपाधि भिडन्तका लागि एक पल्ट फेरि लड्ने योजनामा छ।

पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा उपाधिको दाबेदार मध्येको एक आयोजक इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै सनसनी मच्चाइसकेको छ। पाकिस्तान पनि पहिलो पल्ट फाइनल पुगेको हो।

भारतीय कप्तान विराट कोहलीले आजको खेलमा बंगलादेशलाई कमजोर आक्ने मुर्खता आफूहरुले नगरेको स्पष्ट पारेका छन्। प्रतियोगिताभन्दा अगाडि वार्म–अप खेलमा भारतले २ सय ४० रनले बंगलादेशलाई पराजित गरेको थियो। कोहली त्यो पुरानो घटना भएको र बंगाली टोलीमा थुप्रै प्रभावशाली खेलाडी उपस्थित हुनाले आफूहरु सर्तक रहेको बताउँछन्।

उनले बंगलादेशविरुद्ध सेमिफाइनल अगाडि पत्रकार सम्मेलनमा स्पष्ट पारिसकेका छन– थुप्रै टिमले विरोधी टोलीलाई स्तब्ध पारेका छन। त्यसैले ढुक्क हुने अवस्था छ्रैन।

यसपालि च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘ए’ को खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले सेमिफाइनलको बाटो तय गरेको थियो।

बंगलादेशले सन् २०१५ मा भारतलाई एकदिवसीय शृंखलामा २–१ ले पराजित गरिसकेको छ। त्यसैले बंगाली टोलीमा प्रतिभाको कमि छैन्। फेरि उनीहरुमा जितको भोक रहेको भारतीय कप्तानलाई प्रष्ट थाहा छ। उनले भनेका पनि छन्, जुन प्रकारले च्याम्पियन्स ट्रफीमा बंगलादेश खेल्यो, त्यसले यो टोली खतरनाक देखिन्छ।

बंगलादेशले २००७ को विश्व कपमा भारतलाई पराजित गर्दै समूह चरणबाटै बाहिर निकालेको थियो। त्यो खेलका स्टार तथा हालका कप्तान मसरफे मुर्तजा, शकिब अल हसन, तमिम इक्बाल र मुस्फिकर रहिम यतिबेला बंगाली टोलीका नायक हुन्।

कोहलीले बंगलादेशविरुद्ध सेमिफाइनलमा पुरानै सेट उतार्ने संकेत गरेका छन्। दक्षिण अफ्रिकाविरुद्ध खेलेका रवीचन्द्रन अश्विन पनि आजको खेलमा देखा पर्ने सम्भावना प्रबल छ।

बंगलादेशलाई आज २०१५ विश्व कपको क्वाटरफाइनलमा १ सय ९ रन र गत वर्ष टि–२० विश्व कपमा भारतबाट भोगेको पराजयको बदला लिने मौका जुरेको छ। गत वर्ष टि–२० विश्व कपमा बंगलादेशलाई जितका लागि ३ बलमा २ रन आवश्यक थियो। तर पनि ३ बलमा ३ विकेट गुमाउँदै बंगलादेशले खेल सुम्पिएको थियो।

त्यतिबेला पनि बंगाली टोलीको कप्तान रहेका मसरफे मुर्तजा भन्छन्, ‘टि–२० विश्व कपको पराजय वास्तवमै दुःखद थियो। कहिले काहीँ यस्तो हुन्छ। हामीले त्यो घटना बिर्सिसकेका छौं।’

न्युजिल्यान्डविरुद्ध समूह चरणको खेलमा बंगलादेशका सकिब अल हसन (११४) र महमदुल्ला (१०२) ले २ सय २४ रनको कीर्तिमानी साझेदारी गरेका थिए। यो प्रतियोगितामा बंगलादेश मात्र यस्तो टोली हो, जसका ३ ब्याट्सम्यानले सतक बनाएका छन्। बंगलादेशका सकिब अल हसन, महमदुल्ला र तमिम इक्बालले सतक बनाएका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.