च्याम्पियन ट्रफीको सेमिफाइनल प्रवेशका लागि आफ्नो स्थान सुरक्षित बनाउन आज न्युजिल्यान्ड र बंगलादेश कार्डिफमा भिड्दै छन्। यद्यपी खेल जितेर पनि दुवै टिमको सेमिफाइनल यात्रा सहज हुने छैन्। किनभने दुवै टोलीले आफ्नो अघिल्लो दुई खेलमा १–१ अंक मात्र बटुलेका छन्। र, दुवै इङ्ल्यान्डसँग पराजित भएका थिए। फेरि दुवै टोलीको नेट रनरेट अस्ट्रेलियाभन्दा कमजोर छ।
यो समूहमा इङल्यान्ड अघिल्लो २ खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अस्ट्रेलियाको न्युजिल्यान्ड र बंगलादेशविरुद्धको दुवै खेल वर्षाका कारण प्रभावित बनेको थियो। त्यसैले कङ्गारु २ अंक बटुलेर समूह ‘ए’ को तालिकामा दोस्रो स्थानमा छ।
आजको खेलमा न्युजिल्यान्ड र बंगलादेशमध्ये कुनै पनि टिमले खेल जिते पनि अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेलको नतिजालाई कुर्नु पर्नेछ। ऐसेसका यी परस्पर विरोधी टिम भोली मैदानमा उत्रिँदैछन्।
त्यसैले आज हुने खेलमा कुनै टिमले जिते पनि उसले भोलीको खेलमा इङ्ल्यान्डको जितको प्रार्थना गर्नु पर्नेछ।
बंगलादेशविरुद्धको खेल अगाडि ब्ल्याक क्याप्सका सिमर ट्रेन्ट बोल्टले नयाँ बलको प्रभाव महत्वपूर्ण रहने बताएका छन्। उनले छिट्टै विकेट झारेर बंगाली टोलीलाई दबाबमा राख्न सफल भएको खण्डमा खेल आफूतर्फ ढल्किने इसारा गरेका छन्। ‘छिट्टो विकेट झार्नुको महत्वलाई हामीले बुझेका छौं,’ उनले भने।
न्युजिल्यान्डले बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान तमिम इक्बाललाई सबैभन्दा ठूलो चुनौती देखेको छ। त्यसैले किवी टोलीको सबैभन्दा ठूलो तारो आजको खेलमा तमिम नै हुने छन्। तमिमले अघिल्लो २ खेलमा एउटामा सतक र अर्कोमा अर्धसतक बनाइसकेका छन्। ‘उनी स्तरीय ब्याट्सम्यान हुन्। उनीहरुको ब्याट्सम्यानले रन बनाइरहेका छन्। त्यसैले हामीले सर्तकता अपनाउनु पर्नेछ,’ बोल्टले भने।
बंगलादेशका कप्तान मसराफे मोर्टाजाले पनि न्युजिल्यान्डलाई हराउँदा आफ्नो देशको क्रिकेटलाई विश्व रंगमञ्चमा दह्रोसँग उभ्याउन सहयोग पुग्ने बताएका छन्। ‘प्रतियोगितामा समावेश हुन आउनु पूर्व नै हामीलाई थाहा थियो, केही नयाँ गर्नु पर्छ, नभए इङल्यान्ड र अस्ट्रेलिया जस्ता टोलीलाई हराउन सकिन्न भनेर,’ मोर्टाजाले भने।
उनले पाएको अवसरलाई खेर फ्याँक्ने टिम आफूहरु नभएको बताए। दुवै टिमबीचको खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटपछि सुरु हुँदैछ।