विश्वकप क्रिकेटपछि सबैभन्दा ठूलो मानिने च्याम्पियन्स ट्रफीभन्दा २ दिन अगाडि डिफेन्डिङ च्याम्पियन भारतीय टिममा खटपट सुरु भएको समाचार सार्वजनिक भएको छ।प्रशिक्षक अनिल कुम्बले र कप्तान विराट कोहलीबीच तीव्र असहमति देखिएपछि च्याम्पियन्स ट्रफीमा भारतको प्रदर्शन प्रभावित बन्ने सम्भावना बढेर गएको छ।
प्राप्त समाचारअनुसार कप्तान कोहलीलाई प्रशिक्षक कुम्बलेको रणनीति मन पर्न छोडेको छ। कोहली बाहेक टिमका अन्य सिनियर खेलाडी पनि कुम्बलेको सिकाउने तरिकाबाट खुसी छैनन्। भारतीय क्रिकेट बोर्डका पदाधिकारी भने प्रशिक्षक र कप्तानबीच बढ्दो दुरीलाई लिएर चिन्तित देखिएका छन् र उनीहरु प्रतियोगिता सुरु हुनुअघि आपसी मतभेद अन्त्य गर्न चाहिरहेको श्रोतले बताएको छ। बोर्डले विवाद अन्त्यको जिम्मा चर्चित क्रिकेटर सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मणलाई दिएको छ। यसअघि पनि २०१६ मा कुम्बलेको नियुक्तिलाई एक वर्ष लम्ब्याउन यी तीन जना नै भएको कमिटीले सिफारिस गरेको थियो।
कुम्बलेको भारतीय टोलीसँगको सम्झौता च्याम्पियन्स ट्रफीको फाइनलपछि समाप्त हुँदैछ। यसपछि नयाँ प्रशिक्षकका लागि चयन हुँदैछ। भारतीय क्रिकेट बोर्डको एउटा समूह कुम्बलेलाई नै निरन्तरता दिने पक्षमा छ। तर, विराट कोहलीलगायत अर्को टिम कुम्बलेको स्थानमा नयाँ प्रशिक्षक भित्र्याउने पक्षमा छ।