न्युजिल्यान्डलाई ८७ रनले पराजित गर्दै इङ्ल्यान्ड च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक इङ्ल्यान्डले समूह ए बाट सेमिफाइनलमा प्रवेश गर्ने क्रममा न्युजिल्यान्डलाई ३३ बल खेल्न बाँकी रहँदै पराजित गरेको हो।
टस हारेर पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डले तीन ब्याट्सम्यानको अर्धसतकको सहयोगले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। प्रत्युत्तरमा न्युजिल्यान्ड ४४ दशमलव ३ ओभरमा २ सय २३ रन मात्र बनाउन सफल भयो।
दुवै इनिङमा गरेर २० विकेट झरे। न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन र रोस टेलरबीच तेस्रो विकेटका लागि भएको ९५ रनको साझेदारी मात्र यादगार रहयो। विलियम्सनल ८७ रन बनाएर आउट भए।
किवीका लागि टेलरले ३९, निल ब्रुमले ११ र जेम्स निसमले १३ रन बनाए। कोरे एन्डर्सन पनि १० रनमा आउट भए। न्युजिल्यान्डको सुरुवात नै खराब रहयो। लुक रोञ्ची पहिलो ओभरमै खाता नखोलि आउट भए। मार्टिन गुप्टिल पनि २७ रनमा पवेलियत फर्किए।
न्युजिल्यान्डको इनिङ ध्वस्त पार्न लियाम प्लुमकेटले ४ विकेट लिए। मध्यक्रममा उत्कृष्ट बलिङ गरेका अदिल रसिदले पनि २ विकेट लिए। पहिलो ओभरमै जाक बलले रोञ्चीलाई बोल्ड गरेपछि न्युजिल्यान्डको विकेट पतनको सिलसिला सुरु भएको थियो। बीचमा कप्तान विलियम्सन र टेलरले रोकेका थिए।
यसअघि पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डका लागि एलेक्स हल्सले ५६, जोए रुटले ६४ र जस बटलरले अविजित ६१ रन बनाए। बेन स्टोक्सले पनि ४८ रन बनाएका थिए। न्युजिल्यान्डका एडम मिल्ने र कोरे एन्डर्सनले ३–३ विकेट र टिम साउथीले २ विकेट लिए। म्यान अफ दि म्याच जाक बल भए।