फखरको सतकपछि पाकिस्तानले भारतलाई दियो ३ सय ३९ रनको विशाल लक्ष्य


पाकिस्तानले आफ्नो कट्टर प्रतिद्वन्दी भारतलाई च्याम्पियन्स ट्रफीको फाइनलमा ३ सय ३९ रनको विशाल विजयी लक्ष्य दिएको छ। च्याम्पियन्स ट्रफीको फाइनलमा कुनै पनि टिमले विपक्षी टोलीलाई दिएको यो अहिलेसम्मकै विशाल लक्ष्य हो। पाकिस्तानले एकदिवसीय क्रिकेटमा भारतविरुद्ध बनाएको अहिलेसम्मकै ठूलो योगफल पनि हो।

लन्डनको ओभलमा हाल भइरहेको फाइनलमा भारतीय कप्तान विराट कोहलीले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएका थिए। जसमा प्रारम्भिक ब्याट्सम्यान फखर जमानले १ सय १४ रनको उत्कृष्ट सतकीय इनिङ खेल्दै पाकिस्तानको योगफल ४ विकेटको क्षतिमा ३ सय ३८ रन पुर्याउन महत्वपूर्ण योगदान गरे।

चौथो एकदिवसीय खेलिरहेका फखरले पहिलो विकेटका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान अजहर अलीसँग मिलेर १ सय २८ रनको सतकीय साझेदारी गरेका थिए। यी दुवैले इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा पनि सतकीय साझेदारी गरेका थिए। पाकिस्तानका प्रारम्भिक जोडीले २००३ पछि घर बाहिर लगातार दुई खेलमा सतकीय साझेदारी गरेका हुन्।

अजहर ५९ रन बनाउदै रन आउट भए। फखरले दोस्रो विकेटका लागि बाबर आजमसँग मिलेर ७२ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए। बाबरले ४६ रन बनाए। तल्लो क्रममा मोहम्मद हाफिज र इमाद वासिमले पाँचौ विकेटका लागि अविजित ७१ रनको साझेदारी गरेका थिए। हाफिज ३७ बलमा ३ छक्का र ४ चौकाको सहयोगले ५७ रन बनाउँदै अविजित रहे। इमाद २५ रनमा अविजित रहे।

पाकिस्तान कुनै बेला ३ सय ५० रनको नजिक देखिएको थियो। आज भारतीय बलरले निरास पारे। उनीहरुले १३ वाइड र ९ नोबलसहित २५ अतिरिक्त रन फ्याँके। जसप्रीत बुमराह एक्लैले ३ नोबल र ५ वाइड गरे। उनले ३ रनमा खेलिरहेका फखरलाई सुरुमै क्याच आउट गराएका थिए। तर, भिडियो रिप्लेमा उनले फ्याँकेको बल नोबल देखिएपछि भारतको दुर्भाग्य सुरु भयो।

भारतका भुवनेश्वर कुमार बाहेक अन्य कुनै पनि बलरले प्रभावशाली प्रदर्शन गरेनन्। भारतीय बलरहरुविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले ९ छक्का प्रहार गरेका थिए। जसमा सर्वाधिक ३ छक्का रवीचन्द्रन अश्विनविरुद्ध लागेको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.