११ वर्षपछि च्याम्पियन्स ट्रफीमा फर्किएको बंगलादेशको भाग्य परीक्षा आज


 इङ्ल्यान्डसँग दिउँसो ३ः१५ मा भिड्ने

मिनी विश्व कपको रुपमा हेरिने आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत आयोजक इङ्ल्यान्ड र बंगलादेश आज पहिलो खेलका लागि मैदानमा उत्रिँदा विश्वभरीका क्रिकेट समर्थकको ध्यान ओवलमा हुनेछ।

कल्पना गर्न गाह्रो पर्ने इङ्ल्यान्डको पीच, त्यसमा पनि स्विङ बलरहरुलाई बढी सहयोग गर्ने ओवलको मैदान आफैमा रोमाञ्चकताले भरिपूर्ण छ। त्यसैले कमजोर मानिए पनि बंगलादेशको चमत्कारिक प्रदर्शनलाई लिएर धेरैले अड्कल काँटेका छन्।

इङ्ल्यान्ड यसपालि उपाधि जित्ने योजना र सपना बोकेर मैदानमा उत्रिँदैछ। सन् २००४ र २०१३ मा फाइनल पुगेर उपाधि जित्न नसकेको पीडा यो देशलाई अन्यभन्दा धेरै छ। क्रिकेटको जननी मानिने इङ्ल्यान्डले विश्व कप मात्र होइन, च्याम्पियन्स ट्रफीको उपाधि पनि जित्न सकेको छैन्।

त्यसैले इङल्यान्ड आजको खेल मज्जाले जितेर प्रतियोगिताको सुरुवात उत्कृष्ट ढंगले गर्न चाहन्छ। ट्राभोर बेलिसलाई प्रशिक्षक नियुक्त गरेपछि इङ्ल्यान्डको एकदिवसीय खेलमा पनि निकै सुधार आएको छ। बेलिस आक्रामक खेल खेल्न रुचाउँछन्। उनको थेगो नै छ– कुनै पनि देशले रक्षात्मक खेल खेलेर जितेको मैले देखेको छैन्।

भारतसँग खेलेको अन्तिम अभ्यास खेलमा ८४ रनमै अलआउट भएको बंगलादेश केही कमजोर देखिन्छ। तर, त्यो खेलमा २२ रन बनाएका मेहदी हसन आफ्नो टोली इङ्ल्यान्डलाई हराउन सक्षम रहेको दावी गर्छन्।

बंगलादेशले एकदिवसीय विश्व कपको पछिल्लो २ संस्करणमा इङ्ल्यान्डलाई पराजित गरेको छ। यतिबेला बंगाली खेलाडीहरु इङ्लिस टोली अजेय नभएको र उनीहरुलाई हराउन पुरानै गुरुमन्त्रको खोजीमा छन्।

भारतविरुद्ध अभ्यासमा समावेश नभएका नियमित कप्तान मसराफे मोर्टाजा र तमिम इकबाल आजको खेलमा फर्किदै छन्। त्यसैले पनि बंगलादेशको आत्मविश्वास अलिकति चुलिएको छ। बंगाली ब्याट्सम्यानका लागि आज इङ्ल्यान्डको स्विङ आक्रामणलाई झेल्नु नै प्रमुख योजना हुनेछ। यसले खेलको दिशा र दशा पनि निर्धारण गर्नेछ।

पछिल्लो ११ एकदिवसीयमध्ये १० मा जित सम्भव पारेको इङ्ल्यान्ड यतिबेला निकै आत्मविश्वासी देखिन्छ। उसलाई प्रतियोगिताको दावेदार टोलीको रुपमा हेरिएको छ। स्टार खेलाडीले भरिपूर्ण भएपनि महत्वपूर्ण प्रतियोगितामा ब्याटिङ एकैपल्ट ध्वँस्त हुने परम्परा इङ्ल्यान्डको सबैभन्दा ठूलो रोग हो।

आइपिएलका सबैभन्दा महंगा खेलाडी बेन स्टोक्सको उत्कृष्ट फर्म, अन्य अलराउन्डर क्रिस ओक्स, मोइन अली, आदिल रसिद र लियाम प्लुङ्केट पूर्णरुपमा स्वस्थ्य हुनु इङ्ल्यान्डका लागि सकारात्मक पक्ष हो।

इयोन मोर्गनको कप्तानीमा इङ्ल्यान्डले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ। च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि आफ्नै देशमा विश्व नम्बर १ टोली दक्षिण अफ्रिकाविरुद्ध भएको ३ एकदिवसीयको शृंखला इङल्यान्डले २–१ ले जितेको थियो।

बंगलादेशका प्रशिक्षक चन्डिका हतुरासिङ्घे इङ्ल्यान्डलाई बलियो टोली मान्छन्। उनी ११ वर्षपछि पुनः खेल्न लागिएको यो प्रतियोगिताका लागि आफूहरुले राम्रो तयारी गरेको बताउँछन्। त्यसैले उनी सन् २००६ पछि च्याम्पियन्स ट्रफीमा फर्किएका आफ्नो टोलीलाई उत्कृष्ट सुरुवात दिन कम्मर कसेर लागेका छन्। यसको निर्णय आजै सार्वजनिक हुनेछ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.