बंगलादेशका लागि आज ‘गर या मर’ को अवस्था

AUS vs BD - CT17 - Match 5


बंगलादेशलाई च्याम्पियन्स ट्रफीको अघिल्लो चरण प्रवेशका लागि आज अस्ट्रेलियालाई कुनै पनि हालतमा पराजित गर्नु पर्ने आवश्यकता छ। आयोजक इङ्ल्याण्डसँग पहिलो खेलमा पराजय भोगिसकेको अवस्थामा बंगलादेशका लागि आज ‘गर या मर’ को अवस्था छ।

अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग वर्षाका कारण १–१ अंक बाँडेको थियो। न्युजिल्यान्डले पहिलो इनिङमा बनाएको २ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले नौ ओभरमा ५३ रन बनाउने क्रममा ३ विकेट गुमाएको थियो।

बंगलादेशले तमिम इक्बालको सतकीय इनिङमा इङ्ल्यान्डविरुद्ध ३ सय ५ रनको उत्कृष्ट योगफल बनाएको थियो। तर, विशाल योगफल बनाउँदा पनि ऊ ८ विकेटले पराजित भयो। अस्ट्रेलियाले पहिलो खेलमा अंक बाँडेको र बंगलादेशले अंक गुमाएको स्थितिमा आजको पराजयले दुवै टोलीको सेमिफाइनल पुग्ने समिकरणलाई प्रभावित पार्ने पक्का छ।

यो स्थितिको जानकार दुवै टोलीका कप्तान छन्। त्यसैले आजको खेल रोचक बन्ने आशा गरिएको छ। अस्ट्रेलियाली कप्तान स्टिभन स्मिथले आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘वर्षाले खेल प्रभावित पारेको अवस्था कुनै पनि टिमको लागि राम्रो स्थिति होइन्। अब हामीले प्रत्येक खेल फाइनल जस्तै खेल्नु पर्नेछ। अघिल्लो सबै खेल जित्नु पर्ने बाध्यता छ। आउँदो खेलमा पराजय वा अंक बाँडेको अवस्था खतरनाक बन्न सक्छ।’

बंगलादेशलाई यतिबेला अस्ट्रेलियाले कमजोर आँकेको छैन्। सन् २००५ मा कार्डिफमा भएको खेलमा बंगलादेशले अस्ट्रेलियालाई पराजित गरिसकेको छ।

पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशका बलरले टोलीलाई निरास पारेका छन्। बंगलादेशविरुद्ध जेम्स प्याटिन्सन खेल्ने सम्भावना बलियो मानिन्छ। उनलाई पहिलो खेलमा ड्रप गरिएको थियो।

बंगलादेशले आफ्नो प्रारम्भिक ब्याट्सम्यान तमिम इक्बाल, कप्तान मुसफिकर रहिम, अलराउन्डर सकिब अल हसन र तीब्र बलर मुस्ताफिजुर रहमानको उपस्थितिमा बलियो प्रतिद्वन्दी अस्ट्रेलियालाई चुनौती दिने प्रयास गर्नेछ। तमिम र रहिमले इङ्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका थिए।

इङ्ल्यान्डविरुद्ध सकिबले ब्याट र बल दुवैले खासै प्रभावशाली प्रदर्शन गर्न सकेका थिएनन्। मुस्ताफिजुर पनि राम्रो बलिङबाट चुकेका थिए। बंगलादेशी कप्तान मसरफे मुर्तजाले पनि अघिल्लो खेलमा आफ्नो बलरको फितलो प्रदर्शनलाई स्विकार गरेका छन्। उनले अस्ट्रेलियाविरुद्ध कसिलो बलिङ गर्न बलरहरुलाई प्रोत्साहित गरिरहेका छन्।

‘इङ्ल्यान्डविरुद्ध मध्य क्रममा हामीले विकेट झार्न सकेनौ, जसको नोक्सानी खेप्नु पर्यो। हाम्रा ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ। हामीले अन्त्यमा धेरै विकेट गुमायौं,’ बंगाली कप्तान मुर्तजाले भने।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.