न्युजिल्यान्डद्वारा अष्ट्रेलियालाई २९२ रनको लक्ष्य (हाइलाइट्स भिडियो)


जस हेजलउडले एकै ओभरमा ३ विकेट लिएपछि न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ठूलो योगफल बनाउनबाट चुकेको छ।

हेजलउडले ४४ ओभरको तेस्रो, चौथो र छैटौं ओभरमा विकेट लिएका थिए। उनी हयाट्रिकबाट चुके। तर, उनले ४ बलमा ३ किवी ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाउदै न्युजिल्यान्डको ३ सयभन्दा माथि योगफल बनाउने सपना चकनाचुर पारे।

यसअघि कप्तान केन विलियम्सनले ९६ बलमा ३ छक्काको सहयोगले सतक बनाएपछि ३९ ओभरसम्म न्युजिल्यान्ड बलियो स्थितिमा देखिएको थियो। यतिबेला न्युजिल्यान्ड ३ विकेटको क्षतिमा २ सय ५४ रन बनाउदै बलियो अवस्थामा थियो।

तर, विलियम्सन अर्को बलमा रनआउट हुन पुगेपछि न्युजिल्यान्डको विकेट पतनको शृंखला सुरु भयो। न्युजिल्यान्डले ६ ओभरभित्र बाँकीको ७ विकेट ३७ रनमा गुमायो। न्युजिल्यान्डका लागि लुक रोञ्चीले ६५ र रोस टेलरले ४६ रनको प्रभावशाली ब्याटिङ गरेका थिए। पुछारमा एडम मिल्नेले ११ रनको केही प्रभावशाली ब्याटिङ बाहेक सबैले निरास पारे। कोरे एन्डर्सन ८ रनमै पवेलियन फर्किए।

ग्लेन म्याक्सवेलले ४ क्याच लिँदै आफ्नो उत्कृष्ट फिल्डिङको परिचय दिए। ९ ओभरमा ५२ रन खर्चेर केही महंगो सावित भए पनि हेजलउडले ६ विकेट लिए। हास्टिङसले २ र कुमिन्सले १ विकेट लिए।

वर्षाले प्रभावित भएको यो खेललाई ४६ ओभरमा झारिएको थियो। तर, अस्ट्रेलियाले १ ओभरको खेल खेल्न बाँकी रहँदै न्युजिल्यान्डलाई अलआउट गर्यो। अस्ट्रेलियाले जितका लागि ४६ ओभरमा २ सय ९२ रन बनाउनु पर्नेछ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.