इङ्ल्यान्डविरुद्ध बंगलादेशको अहिलेसम्मकै उच्च योगफल, जितका लागि ३ सय ६ रनको लक्ष्य (भिडियो)


तमिम इक्बालको उत्कृष्ट सतकको सहयोगले बंगलादेशले इङ्ल्यान्डविरुद्ध अहिलेसम्मकै सर्वाधिक कुल योगफल बनाएको छ।

ओवलमा आजदेखि सुरु भएको च्याम्पियन्स ट्रफीको पहिलो खेलमा बंगलादेशले पहिलो ब्याटिङ गर्ने क्रममा ६ विकेटको क्षतिमा ३ सय ५ रन बनायो। बंगलादेशले यसअघि एकदिवसीयमा इङ्ल्यान्डविरुद्ध अहिलेसम्म २ सय ८० भन्दा माथि योगफल बनाउन सकेको थिएन्।

तर, तमिमले तेस्रो विकेटका लागि मुस्फिकर रहिमसँग मिलेर कीर्तिमानी १ सय ६६ रनको साझेदारी गरेपछि बंगलादेशले ३ सय रनको योगफल कटाएको थियो।

तमिमले १ सय २८ रन बनाए। ओवलमा विदेशी ब्याट्सम्यानले इङ्ल्याण्डविरुद्ध बनाएको यो सर्वाधिक उच्च योगफल हो। यसअघि २००६ मा श्रीलंकाका सनथ जयसूर्याले सर्वाधिक १ सय २२ रन ओवलमा बनाएका थिए।

विकेटकिपर रहिमले ७९ रन बनाए। रहिम र तमिम मिलेर एसियाभन्दा बाहिर इङ्ल्यान्डविरुद्ध उच्च साझेदारी गर्ने कीर्तिमान बनाएका थिए। यसअघि बंगलादेशको विदेशमा १ सय ४१ रनको साझेदारी थियो।

क्रिस ओक्स सुरुमै घाइते बन्न पुगेपछि इङ्ल्यान्ड समस्यामा देखिएको थियो। घरेलु टोलीका लागि लियाम प्लुङ्केटले सर्वाधिक ४ विकेट लिएका थिए। उनले लगातार २ बलमा तमिम र रहिमलाई आउट गर्दै बंगलादेशको ३ सय २० भन्दा माथि योगफल बनाउने योजनालाई अंकुश लगाएका थिए।

इङ्ल्यान्डले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.