भारत र पाकिस्तानबीच ‘उत्कृष्टताको लडाई’ आज


सन् १९९२ को एकदिवसीय विश्व कपमा पाकिस्तानी टोली सुरुको ५ मध्ये ३ खेलमा पराजय र इङ्ल्यान्डविरुद्धको एक खेल पानीले बिथोलेपछि लगभग प्रतियोगिताबाट बाहिरिसकेको थियो। त्यतिबेला टेस्ट खेल्ने ९ राष्ट्रबीच पहिलो पल्ट राउन्ड रोबिनको आधारमा विश्व कप भएको थियो। पाँचौ खेल दक्षिण अफ्रिकासँग २० रनले पराजित भएपछि पाकिस्तानका तत्कालिन टिम व्यवस्थापक इन्तिखाब आलमले कप्तान इमरान खानसँग ड्रेसिङ रुममा सोधेका थिए, ‘पाकिस्तान फर्किने प्लेनको टिकट कन्फर्म गरौं। फेरि पछि टिकट मिलाउन झन्झट हुन्छ।’

इन्तिखाबको यो भनाईले इमरानलाई यति घोचे छ। उनले तत्कालै उत्तर दिए, ‘हुन्छ। तर, फाइनल सकिएपछिको डेट राखेर कन्फर्म गर्नु।’

नभन्दै, पाकिस्तानले बाँकीको ३ खेल लगातार जितेर अस्ट्रेलियालाई अंक तालिकामा पछि पार्दै सेमिफाइनलको यात्रा तय गर्यो। त्यतिबेला कप्तान मार्टिन क्रोको नेतृत्वमा मार्क ग्रेटब्याच जस्ता बिस्फोटक ब्याट्सम्यान समावेश न्युजिल्यान्डको टोली लगातार ७ खेल जितेर प्रतियोगिताको प्रमुख दावेदार बनेको थियो।

समूह चरणको अन्तिम खेलमा मार्टिन क्रोको यही अपराजित टिमलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान पहिले सेमिफाइनल र सेमिफाइनलमा फेरि न्युजिल्यान्डको त्यही टिमलाई ४ विकेटले पराजित गर्दै फाइनल पुग्यो। फाइनलमा इङ्ल्यान्डलाई २२ रनले पराजित गरेपछि कसैले नचिताएको पाकिस्तान एकदिवसीय क्रिकेटको विश्व विजेता बन्यो।

२५ वर्ष अगाडि एकदिवसीय क्रिकेटमा आफ्नो नाम स्थापित गरेको पाकिस्तान अहिले त्यही मोडमा उभिएको छ। तर, इमरानका छोरा पुस्ताले पाकिस्तानको त्यो चहकिलो इतिहास पुनः फर्काउन सफल होलान? त्यो आज भारत र पाकिस्तानबीच इङ्ल्यान्डको ओभल मैदानमा आयोजना हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलपछि छर्लङग हुनेछ।

मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफीको आठौं संस्करण खेल्न इङ्ल्यान्ड आइपुग्दा पाकिस्तानको अवस्था त्यति राम्रो थिएन। आइसिसी वरियतामा पाकिस्तान खस्किँदो अवस्थामा थियो। अनुभवी खेलाडीले धमाधम क्रिकेटबाट सन्यास लिएको र युवा खेलाडीमा बेलाबेलामा उठ्ने अनुशाषनको विषयले गर्दा पाकिस्तानको छवी अन्तर्राष्ट्रिय क्रिकेटमा त्यति राम्रो बनिरहेको छैन्।

यस्तो अवस्थामा विश्वकै उत्कृष्ट टिम मानिएको भारतलाई पराजित गर्दै आफूलाई अब्बल साबित गर्ने ऐतिहासिक मोडमा पाकिस्तानी क्रिकेट उभिएको छ। तर, यतिबेला भारतलाई हराउनु भनेको पाकिस्तानका लागि सोचे जति सजिलो छैन्। भारतीय क्रिकेट २१ औं शताब्दीमा प्रवेश गर्दा निकै व्यवसायिक बनिसकेको छ।

भारतका माथिल्लो क्रमका तीन ब्याट्सम्यान शिखर धवन, रोहित शर्मा र विराट कोहली पाकिस्तानी बलरका लागि सबैभन्दा ठूलो टाउको दुखाई बनेका छन्।

यी तीनै ब्याट्सम्यानले यसपालि उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। उनीहरुले यो प्रतियोगितामा बनाएको ८ सय ७४ रन, पाकिस्तानको पुरै टिमले प्रतियोगितामा बनाएको कूल ७ सय ३५ भन्दा बढि छ। फेरि यी ब्याट्सम्यानले पाकिस्तानविरुद्ध समूह चरणको पहिलो खेलमा अर्धसतक पुरा गरिसकेका छन्। त्यसैले उनीहरु पाकिस्तानी बलिङ आक्रमणसँग राम्रै परिचित छन्।

आजको खेलमा पाकिस्तानका अनुभवी बलर मोहम्मद आमिर टोलीमा फर्किने सम्भावना प्रबल छ। भारतीय टोलीमा परिवर्तनको सम्भावना न्युन छ।

इङ्लिस अखबारका अनुसार ओभलको फ्लाट पीचमा हुने फाइनल खेल ब्याट्सम्यानका लागि सहयोगी मानिन्छ। त्यसैले आजको खेललाई क्रिकेट विश्लेषकले ब्याट र बल बीचको प्रतिस्पर्धाको रुपमा चित्रण गरेका छन्। भारतको ब्याटिङ लाइन–अपलाई पाकिस्तानका रिभर्स स्विङ बलरहरुले कति नियन्त्रणमा राख्छन, यसले फाइनल खेलको नतिजालाई प्रभावित पार्नेछ।

भारतका अगाडि आज दुई तीब्र बलर समस्याको रुपमा उभिने सम्भावना बलियो छ। दक्षिण अफ्रिकालाई समूह चरणको र इङ्ल्यान्डलाई सेमिफाइनलमा पराजित गर्दा ३–३ विकेट लिएर ‘म्यान अफ दि म्याच’ बनेका हसन अली अहिले उत्कृष्ट लयमा छन्। उनले ४ खेलमा सर्वाधिक १० विकेट लिइसकेका छन्। यस्तै, ६ फिट १ इन्च अग्ला जुनिद खानले ३ खेलमा ७ विकेट लिएका छन्। उनी भारतीय कप्तान विराटका लागि समस्या बन्दै आइरहेका छन्। देब्रे हातले बल फ्याँक्ने जुनेदले पछिल्लो ५ भिडन्तमध्ये ३ मा विराटलाई आउट गरिसकेका छन्। त्यसैले फाइनल खेलभन्दा एक दिन अगाडि शनिवार नेट्समा विराटले देब्रे हाते बलरबाट धेरै समय अभ्यास गरेका थिए।

दुई देशबीचको राजनीतिक तिक्तताका कारण आजको फाइनल यी दुई देशका कट्टर समर्थकका लागि विशुद्ध खेलमा मात्र सिमित हुनेछैन। रणभूमीमा परिणत हुनेछ। पाकिस्तानका पूर्व कप्तान वासिम अक्रमले एकपल्ट टेलिभिजन साक्षात्कारमा भनेका थिए, ‘भारत र पाकिस्तानबीचको क्रिकेट अन्य टिमसँग खेले जस्तो सामान्य हुँदैन्। त्यहाँ रोमाञ्चकता हुन्छ। आक्रामकता हुन्छ। जित्ने दबाब हुन्छ। र, आत्म सम्मानको कुरा हुन्छ।’

त्यसैले आजको खेललाई भारतीय कप्तान विराट कोहलीले अहंमकारको रुपमा नलिने बताइसकेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को आधिकारीक प्रतियोगितामा पाकिस्तानको तुलनामा भारतको पोल्टो भारी देखिन्छ। भारतले हालसम्म १३ खेलमा पाकिस्तानलाई हराइसकेको छ। २ पल्ट भने भारत पाकिस्तानबाट पराजित भएको छ।

पछिल्लो पल्ट यी दुई देश ५० ओभरको नकआउट खेलअन्तर्गत २०११ को विश्व कपको सेमिफाइनलमा भिडेका थिए। मोहालीमा भएको यो खेलमा भारत विजयी भयो। राजनीतिक तनावले गर्दा भारत–पाकबीचको पारम्परिक क्रिकेट सन् २००८ देखि बन्द छ।

भारतले सन् २००७ को आइसिसी टि–२० विश्व कप क्रिकेट प्रतियोगितामा पाकिस्तानलाई ५ रनले पराजित गरेको थियो। यसको १० वर्षपछि यी दुई देश आइसिसीले आयोजना गरेकाे ठूलो प्रतियोगिताको फाइनलमा भिड्दै छन्। पाकिस्तान १९९९ काे विश्व कप क्रिकेट पछि एकदिवसीय क्रिकेटकाे ठूलाे प्रतियोगिताको फाइनल खेल्दै छ।

यी सबै बिर्सनलायक इतिहासका बीच पाकिस्तानी कप्तान सरफराज अहमदसँग युवा अवस्थामा भारतलाई हराएको एउटा मिठो सम्झना सुरक्षित छ। उनी सन् २००६ को युथ–१९ विश्व कपका लागि युवा टोलीको कप्तान हुँदा पाकिस्तानले फाइनलमा भारतलाई ३८ रनले पराजित गरेको थियो। त्यतिबेला भारतीय टोलीमा चेतेश्वर पुजारा, रोहित शर्मा र रवीन्द्र जडेजाजस्ता खेलाडी सम्मिलित थिए। त्यतिबेला पाकिस्तानले बनाएको १ सय ९ रनलाई पछ्याउन नसक्दा भारतको पुरै टिम ७१ रनमा लड्खडाएको थियो। आजको फाइनल खेलमा सरफराजको विपक्षमा पुनः रोहित र जडेजा उत्रिँदैछन्।

त्यसैले आजको खेल यी दुई देशका समर्थकका लागि रोमाञ्चकता मात्र होइन, दुई देशका खेलाडीबीच ‘उत्कृष्टताको लडाई’ को रुपमा पनि हेरिएकाे छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.