१० वर्षपछि भारत र पाकिस्तान महत्वपूर्ण प्रतियोगिताको फाइनल भिड्दै


पाकिस्तान र भारत १० वर्षपछि आइसिसीको आधिकारीक प्रतियोगिताको फाइनलमा एक–अर्कासँग भिड्दै छन्।

सन् २००७ को टि–२० विश्व कपको फाइनलपछि यी दुई प्रतिद्वन्दी टिम आइतबार लन्डनको ओवल मैदानमा एकदिवसीय क्रिकेटको मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्न लागेका हुन्।

भारत र पाकिस्तान यस प्रतियोगिताको समूह ‘बी’मा सहभागी थिए। यी दुवै टिमले समूह चरणको १–१ खेल हारेर फाइनल प्रवेश गरेका हुन्। भारतले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई १ सय २४ रनले पराजित गरेको थियो। तर, श्रीलंकाबाट पराजित भएको थियो।

पाकिस्तान समूह चरणको खेलमा भारतबाट पराजित भएपनि उसले श्रीलंकालाई हराएर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको थियो। भारतले सेमिफाइनलमा बंगलादेशलाई ९ विकेट तथा पाकिस्तानले इङ्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

१० वर्ष अगाडि टि–२० विश्व कपको फाइनलमा भारत भाग्यमानी सावित भएको थियो। त्यतिबेला टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो। प्रत्युत्तरमा पाकिस्तानलाई जितका लागि २४ बलमा ५४ रन आवश्यक थियो। पाकिस्तानको हातमा तीन विकेट बाँकी रहेको अवस्थामा मिसवाह–उल–हकले हरभजन सिंहलाई ३ छक्का प्रहार गर्दै खेललाई जितको नजिक ल्याएका थिए।

अन्तिम ओभरमा पाकिस्तानलाई १३ रन आवश्यक थियो। त्यतिबेला भारतीय कप्तान महेन्द्रसिंह धोनीले कम अनुभवी जोगेन्दर शर्मालाई बलिङको जिम्मा दिएका थिए। मिसवाहले जोगेन्दरको बलमा छक्का प्रहार गरे पनि पाकिस्तान १९ दशमलव ३ ओभरमा १ सय ५२ रनमा अल आउट हुँदै ५ रनले खेल हारेको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.