इमरानको पाकिस्तानी खेलाडीलाई आग्रह, भारतसँग हारको बदला लिनुँ


पाकिस्तानका ख्याती प्राप्त क्रिकेटर इमरान खानले भारतलाई च्याम्पियन्स ट्रफीको फाइनलमा हराएर समूह चरणमा भोगेको खराब पराजयको बदला लिने अवसर जुरेको प्रतिक्रिया दिएका छन्।

भारत र पाकिस्तान मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफीको उपाधिका लागि आइतबार ओवल मैदानमा उत्रिँदैछन्। पाकिस्तान समूह चरणको खेलमा भारतबाट १ सय २४ रनले पराजित भएको थियो। फाइनलमा दोस्रो पल्ट भिड्न लागेका यी दुई परस्पर विरोधी देशबीचको खेललाई लिएर अहिले विश्वभरीका क्रिकेट प्रेमीमाझ ठूलो चासो छ।

इमरानले भारतलाई पराजित गर्दै गुमेको पुरानो आत्म सम्मान फर्काउने अवसर पनि प्राप्त भएको प्रतिक्रिया दिएका छन्। ‘पहिलो जुन तरिकाले हार्यौ, त्यो लज्जास्पद थियो। त्यसको बदला लिन सक्छौं,’ इमरानले भने।

इमरानको कप्तानीमा पाकिस्तानले सन् १९९२ मा पहिलो पल्ट एकदिवसीय विश्व कप जितेको थियो। उनले गल्तीबाट सिक्दै आइतबार पाकिस्तानी खेलाडीलाई संयमित भएर खेल्न सुझाव दिए। उनले कप्तान सरफराज अहमदलाई सुझाव दिएका छन्, टस जितेको खण्डमा भारतलाई ब्याटिङको निम्तो नदिनुँ।

उनले भने, ‘भारतसँग उत्कृष्ट ब्याटिङ लाइन–अप छ। त्यसैले उनीहरुले ठूलो योगफल बनाए भने हामी दबाबमा पर्न सक्छौं। हामीले टस जितेर ब्याटिङ गर्दा राम्रो। किनभने बलिङ हाम्रो हतियार हो।’

उनले कप्तान सरफारज अहमदको प्रसंसा गरे। भने, ‘उनी निकै सहासिक कप्तान प्रमाणित भएका छन्। म उनीबाट प्रभावित छुँ।’

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.