को हुन रघु? जसका कारण विराटको ब्याटिङमा सुधार आयो


भारतीय क्रिकेट कप्तान विराट कोहलीले आफ्नो ब्याटिङमा पछिल्लो १८ महिना यता निकै ठूलो सुधार आएको र यसको श्रेय उनले प्रशिक्षक अनिल कुम्बलेलाई नभई अर्के व्यक्तिलाई दिएका छन्।

बंगलादेशविरुद्ध च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा ९६ रनको उत्कृष्ट इनिङ खेलेपछि उनले यसको रहस्योदघाटन गरेका हुन्। उनले पत्रकार सम्मेलनमा यसको जानकारी दिँदै भने, ‘मेरो ब्याटिङमा सुधार आउनुमा दुई व्यक्तिको विशेष योगदान छ।’

२८ वर्षीय विराटले टिम इन्डियाका ब्याटिङ प्रशिक्षक सञ्जय बाङ्गड र रघुका कारण आफ्नो ब्याटिङमा निकै सुधार आएको बताए। बाङ्गडको विषयमा धेरै जना जानकार नै छन्। उनले भारतीय क्रिकेटमा प्रतिनिधित्व गरिसकेका छन्। तर, रघुको विषयमा कमैलाई जानकारी छ।

विराटले भने, ‘रघुले मलाई १ सय ४० किमीको तीब्र गतिमा आउने बललाई कसरी खेल्ने त्यो सिकाएँ। उनले अभ्यासमा मलाई खुब दौडाए। यसैको कारण म सहज महसुस गरिरहेको छु। तर, उनको विषयमा थोरै व्यक्तिलाई मात्र थाहा छ।’

रघुको वास्तविक नाम राघवेन्द्र हो। उनी भारतीय टिमसँग विशेष उद्धेश्यका लागि जोडिएका हुन्। अभ्यासमा रघु नेट्समा ब्याट्सम्यानलाई बल फ्याँक्ने अर्थात थ्रो–डाउनको भूमिका निर्वाह गर्ने गर्दछन्। रघु घन्टौं बल फ्याँकेर भारतीय टोलीका ब्याट्सम्यानहरुलाई अभ्यास गराउँछन्। विराट कोहली बाहेक उनले नेट्समा सचिन तेन्दुलकर र राहुल द्रविडलाई पनि बल फ्याँकिसकेका छन्।

भारतको कर्नाटकमा जन्मिएका रघु पहिले क्रिकेटर बन्न चाहन्थे। यसका लागि उनी कुनै बेला भारतीय क्रिकेटको मक्का मानिने मुम्बई पनि पुगेका थिए। तर, उनले क्लब क्रिकेटमा त्यति सफलता चुम्न सकेनन्। यसपछि पुनः घर फर्किएका उनी विभिन्न संस्थासँग जोडिएर कर्नाटकको रणजी टिमको थ्रो–डाउन सहायकको भूमिका निर्वाह गर्न थाले। यसपछि उनको जीवनमा ठूलो परिवर्तन आयो।

सन् २००८ मा रघु राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा आवद्ध भए। लगत्तै उनी राष्ट्रिय टोलीमा आवद्ध भएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.