विराट कोहलीको कीर्तिमानपछि भारत फाइनलमा, पाकिस्तानसँग उपाधिका लागि भिड्ने

Match Highlights


कप्तान विराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १ सय ७८ रनको अविजित सतकीय साझेदारी गरेपछि भारतले ९ विकेटले बंगलादेशलाई पराजित गर्दै लगातार दोस्रो पल्ट च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन भारतको अब फाइनल भिडन्त कट्टर प्रतिद्वन्दी पाकिस्तानसँग हुनेछ। विहिबार दोस्रो सेमिफाइनलमा टस जितेर भारतीय कप्तान विराट कोहलीले बंगलादेशलाई ब्याटिङको निम्तो दिएका थिए।

जसमा भारतीय बलर केदार जाधव र जस्प्रित बुमराहको बलमा असहज महसुस गरेको बंगलादेशले ७ विकेट गुमाएर २ सय ६४ रन बनायो। भुवनेश्वर कुमारको बलमा सुरुमै ३१ रनमा २ विकेट गुमाएको बंगलादेशका लागि तमिम इक्बाल र मुस्फिकर रहिमले तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई राम्रो योगफलतर्फ डोर्याएका थिए।

तमिमले ७० र रहिमले ६१ रन बनाए। यसबाहेक कुनै बंगलादेशी ब्याट्सम्यानले ठोस साझेदारी गर्न सकेनन्। केदारले पहिले तमिम र पछि रहिमलाई आउट गरे। बुमराहले २१ रन बनाएका महमदुल्ला र १५ रन बनाएका मोसादेक होसेनलाई आउट गर्दै थप ठूलो साझेदारी गर्न दिएनन्। पुछारमा कप्तान मसराफे मुर्तजाले अविजित ३३ रन बनाउदै आफ्नो टोलीलाई सम्मानजनक अवस्थामा पुर्याए।

प्रतियोगिताको सबैभन्दा बलियो ब्याटिङ लाइन–अप मानिएको भारतका लागि शिखर धवन र रोहित शर्माले ८७ रनको ठोस साझेदारी गरे। धवन यस प्रतियोगितामा पहिलो पल्ट अर्धसतक पुरा गर्नबाट ४ रनले चुके। उनले ४६ रन बनाए।

यसपछि रोहित शर्मा र कप्तान विराट कोहलीले १ सय ७८ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई ५९ बल खेल्न बाँकी रहँदा विजय दिलाए। रोहितले अविजित रहँदै १ सय २३ रन बनाए। कप्तान कोहली ९६ रनमा अविजित रहे। कोहलीले सबिर रहमानले ४० दशमलव १ ओभरमा गरेको बललाई चौका प्रहार गर्दै आफ्नो टोलीलाई विजय दिलाएका थिए।

विराटले यही खेलमार्फत एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाए। खेलको म्यान अफ दि म्याच रोहित शर्मालाई घोषित गरियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.