इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले मच्चायो सनसनी, पहिलो पल्ट फाइनलमा


पाकिस्तानले प्रतियोगिताकै बलियो र दाबेदार मानिएको इङ्ल्यान्डलाई च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा ८ विकेटले पराजित गर्दै नयाँ कीर्तिमान बनाएको छ। सन् १९९२ को एकदिवसीय क्रिकेटको फाइनल जितेको पाकिस्तान एक पल्ट पनि मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गर्न सकेको थिएन्।

तर, यो प्रतियोगितामा कमजोर आँकिएको पाकिस्तानले इङ्ल्यान्डलाई उसैको घरेलु कार्डिफ मैदानमा ७८ बल खेल्न बाँकी रहँदा पराजित गर्दै फाइनलमा स्थान बनायो।

सुरुमा आफ्नो तीब्र बलरको दममा इङ्ल्यान्डलाई ४९ दशमलव ५ ओभरमा २ सय ११ रनमा रोकेको पाकिस्तानले त्यसपछि आफ्नो ब्याटिङको क्षमता देखायो। पाकिस्तानले ३७ दशमलव १ ओभरमा २ विकेट गुमाउदै २ सय १५ रन बनायो। अन्त्यमा मोहम्मद हाफिजले बेन स्टोक्सको बलमा चौका प्रहार गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए।

यस खेलमा पाकिस्तानी विकेटकिपर कप्तान सरफराज अहमदले टस जितेर प्रतियोगितको बलियो ब्याटिङ लाइन–अप मानिएको इङल्यान्डलाई ब्याटिङको निम्तो दिएका थिए। कप्तान सरफराजको पहिले बलिङ गर्ने निर्णयलाई हसन अलीलगायतले सही ठहर्याए। जब २० औं एकदिवसीय खेलिरहेका हसनले १० ओभरमा ३५ रन खर्चेर इङ्लिस कप्तान इयोन मोर्गन, प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट्रो र अलराउन्डर बेन स्टोक्सलाई आउट पारे। जतिबेला यी तीन ब्याट्सम्यानले राम्रो साझेदारी गर्ने छनक देखाएका थिए, त्यतिबेला उनले यी तीन वटै ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएका थिए।

इङ्ल्यान्डको दह्रो ब्याटिङ लाइन–अपलाई ध्वस्त बनाउन उनले गरेको योगदानका लागि ‘म्यान अफ दि म्याच’ पनि घोषित गरियो।

पाकिस्तानका लागि दुवै प्रारम्भिक बलर जुनिद खान र रुमान रईसले पनि २–२ विकेट बाँडे। रईस यही खेलमार्फत च्याम्पियन्स ट्रफीमा तेस्रो डेब्यु गर्ने पाकिस्तानी खेलाडी बने। उनको रिभर्स स्विङमा इङलिस ब्याट्सम्यानले केही असहज महसुस गरेका थिए। उनले छैटौं ओभरमै एलेक्स हल्सको रुपमा पाकिस्तानलाई सुरुवाती सफलता दिलाएका थिए। लेग स्पिनर साइद खानले १ विकेट लिए। उनले जोए रुटको महत्वपूर्ण विकेट लिएका थिए।

इङ्लिस इनिङमा रुटले नै सर्वाधिक ४६ रन बनाएका थिए। समूह चरणको सबै खेल जितेर अपराजित रहेको इङ्ल्यान्डका कुनै ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन्। च्याम्पियन्स ट्रफीको पहिलो खेल खेलेका बेयरस्ट्रोले ४३ रन बनाए। कप्तान मोर्गन ३३ र स्टोक्स ३४ रनमा आउट भए। इङ्ल्यान्डले पहिलो पल्ट आफ्नो इनिङमा एक छक्का पनि प्रहार गर्न सकेन्।

जवाफमा पाकिस्तानको प्रारम्भिक जोडी अजहर अली र फकहर जमनले २१ ओभरमा १ सय १८ रनको सतकीय साझेदारी गर्दै जितको आधार खडा गरे। पाकिस्तानको प्रारम्भिक जोडीले २०१३ पछि लगातार दुई खेलमा ५० भन्दा माथिको साझेदारी गरेको थियो। यी दुवैले श्रीलंकाविरुद्ध महत्वपूर्ण खेलमा पनि ७४ रनको साझेदारी गरेका थिए।

फकहर ५७ रनमा आउट भएपछि अजहरले दोस्रो विकेटका लागि बाबर आजमसँग मिलेर पुनः ५५ रनको साझेदारी गरेका थिए। अजहर ७६ रनमा आउट भएपछि बाबरले तेस्रो विकेटका लागि मोहम्मद हाफिजसँग मिलेर तेस्रो विकेटका लागि अविजित ४२ रनको साझेदारी गरेका थिए।

बाबरले अविजित रहँदै ३८ र हाफिजले ३१ रन बनाए। विहिबार च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच हुनेछ। यस खेलबाट विजयी टोलीसँग पाकिस्तानले फाइनल खेल्नेछ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.