३ दक्षिण एसियाली राष्ट्र च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा


मिनी विश्व कप मानिने च्याम्पियन्स ट्रफीको यसपालिको भिडन्तमा ३ दक्षिण एसियाली राष्ट्र पुग्न सफल भएका छन्। च्याम्पियन्स ट्रफीको १९ वर्ष लामो इतिहासमा ३ दक्षिण एसियाली राष्ट्र एकै पल्ट सेमिफाइनल प्रवेश गरेको यो पहिलो अवसर हो।

यसपालि भारत, पाकिस्तान र बंगलादेश दक्षिण एसियाली राष्ट्रको रुपमा एकैपल्ट सेमिफाइनल प्रवेश गरेका हुन्। यसबाहेक आयोजक इङ्ल्याण्ड चौथो राष्ट्रको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

बंगलादेश पहिलो पल्ट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो। समूह ‘ए’ मा रहेको बंगलादेशले च्याम्पियन्स ट्रफी जितिसकेको न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। बंगलादेशको सेमिफाइनल भिड्न्त भारतसँग विहिबार हुनेछ। भारत पाँचौ पल्ट सेमिफाइनल प्रवेश गरेको हो। भारतले सन् २००२ र २०१३ मा गरि दुई पल्ट उपाधि जितिसकेको छ। भारत डिफेन्डिङ च्याम्पियन पनि हो।

पाकिस्तान पनि चौथो पल्ट च्याम्पियन्स ट्रफीको फाइनल पुगेको हो। उसको सेमिफाइनल भिड्न्त बुधबार इङ्ल्यान्डसँग हुँदैछ। इङ्ल्यान्ड गत च्याम्पियन्स ट्रफीको फाइनलिस्ट हो। इङ्ल्यान्ड २००४ र २०१३ को फाइनल पुगेर पराजित भएको थियो। यो टोली पनि चौथो पल्ट सेमिफाइनल पुगेको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.