मालिङ्गाको बलमा २ क्याच मिस भएपछि पाकिस्तान सेमिफाइनलमा, श्रीलंका बाहिरियो


लासिथ मालिङ्गाको ३८ ओभरको दोस्रो र ४० ओभरको पहिलो बलमा कप्तान सरफराज अहमदको दुई वटा क्याच छोडेपछि हातमा आएको खेल श्रीलंकाले गुमाएको छ।

पहिले खराब ब्याटिङ, त्यसपछि खराब फिल्डिङको भुक्तान श्रीलंकाले च्याम्पियन्स ट्रफीको समूहबाट बाहिरिएर गरेको छ।

प्रतियोगिताको कमजोर टोली मानिएको पाकिस्तानले जित्नै पर्ने खेलमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीकाे सेमिमा आफ्नो स्थान सुरक्षित पार्यो।

पाकिस्तानको जितमा कप्तान सरफराज र मोहम्मद आमिरले ७५ रनको अविजित साझेदारी गरे। च्याम्पियन्स ट्रफीमा आठौं विकेटका लागि भएको यो अहिलेसम्मकै सर्वाधिक साझेदारी हो।

पाकिस्तानले कार्डिफमा टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो। जसमा पाकिस्तानी बलरको धारिलो बलिङका अगाडि घुँडा टेकेको श्रीलंकाले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रनको सहज योगफल मात्र बनायो।

प्रत्युत्तरमा २ सय ३७ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यानद्धय अजहर अली र फकहार जमानले ७४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। तर, यसपछि विकेट गुमाउन थालेको पाकिस्तानले १ सय ६२ रनकाे स्थितिमा ७ विकेट गुमाइसकेको थियो।

कप्तान सरफराजले अविजित ६१ रन बनाउँदै पाकिस्तानलाई जित दिलाए। उनले अन्त्यमा मालिङ्गालाई विजयी चौका प्रहार गरेका थिए। उनलाई सहयोग गरेका आमिरले अविजित २८ रन बनाए। पाकिस्तानले ४४ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै विजय लक्ष्य चुमेको थियो। यसअघि पाकिस्तानका लागि फकहारले ३६ बलमा ५० रन तथा अजहर अलीले ५० बलमा ३४ रन बनाएका थिए।

पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि प्रारम्भिक ब्याट्सम्यान निरोसान डिकवेलाले ७३ रन बनाए। यस्तै कप्तान एञ्जेलो म्याथ्युसले ३९ रन बनाए।
एकदिवसीयमा डेब्यु गरेका पाकिस्तानी बलर फाहिम असरफले २ विकेट लिए। कप्तान सरफराज म्यान अफ दि म्याच घोषित भए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.