युवराजको छक्कापछि भारत सेमिफाइनलमा, अफ्रिका बाहिरियो


युवराज सिंहले आफ्नो बिस्फोटक शैलीमा जेपी डुमेनीलाई मिडविकेट माथि छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएको छ।

कप्तान विराट कोहलीको उत्कृष्ट अविजित ७६ रनको सहयोगले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश गरेको हो।

आइतबार राती दक्षिण अफ्रिकाले जितका लागि दिएको १ सय ९२ रनको सहज लक्ष्य भारतले ३८ ओभरमा पुरा गर्यो। भारतको जितमा बलरहरु मात्र नभई शिखर धवन र कप्तान कोहलीको १ सय २८ रनको साझेदारी महत्वपूर्ण बन्न पुग्यो।

२३ रनको अवस्थामा रोहित शर्मालाई गुमाएको भारतका लागि यी दुई ब्याट्सम्यानले धैर्यताका साथ ब्याटिङ गरे। धवन ८२ बलमा १ छक्का र १२ चौकाको सहयोगले ७८ रन बनाउदै आउट भए। यसपछि विराटले १ छक्का र ७ चौकाको सहयोगले अविजित अर्धसतक बनाए। युवराज सिंह २३ रनमा अविजित रहे। उनले एक छक्का र एक चौका प्रहार गरे।

समूह ‘बी’ अन्तर्गत अघिल्लो खेलमा ४ वटै देशले समान १–१ खेल जितेका थिए। त्यसैले आज दुवै टोलीलाई सेमिफाइनल प्रवेशका लागि जित आवश्यक थियो।

भारतीय कप्तान कोहलीले टस जितेर अफ्रिकालाई ब्याटिङको निम्तो दिएका थिए। जसमा भारतको कसिलो बलिङ र फिल्डिङको अगाडि घुँडा टेकेको अफ्रिकाले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो।

अफ्रिकाका ३ ब्याट्सम्यान रन आउटको शिकार बने। अफ्रिकाले अन्त्यमा ५१ रन जोड्ने क्रममा ८ विकेट गुमायो।

प्रारम्भिक ब्याट्सम्यान हासिम अमला र क्वान्टन डि कोकले ढिलो ब्याटिङ गरे, जसका कारण अफ्रिकाले १० ओभरको पहिलो पावरप्लेमा ३५ रन मात्र जोड्यो। जुन यो प्रतियोगितामा अफ्रिकाको सबैभन्दा फितलो सुरुवात थियो।

भारतविरुद्ध सधै उत्कृष्ट प्रदर्शन गरिरहेका डि कोक ५३ रनमा आउट हुनु र कप्तान एबी डीभिलियर्स १६ रनमा रन आउट हुनु नै अफ्रिकी टोलीको ठूलो दूर्भाग्य थियो। अफ्रिकाले ६ बलको अन्तरमा डीभिलियर्स र डेभिड मिलरलाई रनआउटको रुपमा गुमाएको थियो।

पहिलो पल्ट रवीचन्द्रन अश्विन र रवीन्द्र जडेजाको स्पिन जाेडीलाई एकै पल्ट मैदानमा उतारेको भारतका लागि यो योजना सफल बन्यो। दुवैले १–१ विकेट लिए पनि अफ्रिकी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्। आज सबैभन्दा उत्कृष्ट बलिङ भुवनेश्वर कुमारले गरे। उनले ७ दशमलव ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। उनी ४३ ओभरमा ह्याट्रिक नजिक थिए। उनले कागिसो रबाडा र मोर्ने मोर्केललाई लगातार २ बलमा आउट गरेका थिए।

जस्प्रित बुमरा पनि प्रभावशाली रहे। उनले पनि ८ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। फिल्डिङ र बलिङ दुवैमा उनको प्रभावशाली प्रदर्शनका लागि म्यान अफ दि म्याच चुनियो। उनले मिलरलाई रनआउट गर्न उत्कृष्ट थ्रो गरेका थिए।

हार्दिक पाण्ड्याले १ विकेट झारे। अफ्रिकाका लागि हासिम अमलाले ३५, फाफ डु प्लेसिसले ३६ र जेपी डुमिनीले अविजित रहँदै २० रन बनाए।
सोमबार पाकिस्तान र श्रीलंकाबीच यही समूहको दोस्रो रोमाञ्चक खेल हुँदैछ। यो खेलमा पनि जुन टोली विजयी हुन्छ, त्यो सेमिफाइनल प्रवेश गर्नेछ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.