भारतको कसिलो बलिङ र फिल्डिङको अगाडि दक्षिण अफ्रिका १ सय ९१ मा धरासायी


च्याम्पियन्स ट्रफीको महत्वपूर्ण खेलमा भारतले दक्षिण अफ्रिकालाई १ सय ९१ रनमा समेटेको छ। टस जितेर ब्याटिङको निम्तो दिएको भारतले अफ्रिकी टोलीलाई ४४ दशमलव ३ ओभरमा समेटेको थियो।

अब भारतीय टोलीलाई जितका लागि १ सय ९२ रनको सामान्य योगफल बनाए पुग्ने छ। आजको खेलमा जो विजयी भयो, त्यो टोली समूह बीबाट सेमिफाइनल प्रवेश गर्नेछ।

भारतको सुरुवातदेखि नै कसिलो बलिङका कारण अफ्रिकी ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। अझ, भारतको फिल्डिङ चुनौतीपूर्ण बन्न पुगेपछि अफ्रिका २ सयभन्दा तलको योगफलमा समेटियो।

अफ्रिकाका ३ ब्याट्सम्यान रन आउटको शिकार भए। अफ्रिकाले ५१ रन जोड्ने क्रममा ८ विकेट गुमाएको थियो।

प्रारम्भिक ब्याट्सम्यान हासिम अमला र क्वान्टन डि कोकले ढिलो ब्याटिङ गरे, जसका कारण अफ्रिकाले १० ओभरको पहिलो पावरप्लेमा ३५ रन मात्र जोड्यो। आजको खेलमा भारतविरुद्ध सधै उत्कृष्ट प्रदर्शन गरिरहेका डि कोक ५३ रनमा आउट हुनु र कप्तान एबी डीभिलियर्स १६ रनमा रन आउट हुनु नै ठूलो दूर्भाग्य बन्यो। अफ्रिकाले ६ बलको अन्तरमा डीभिलियर्स र डेभिड मिलरलाई रनआउटको रुपमा गुमाएको थियो।

पहिलो पल्ट रवीचन्द्रन अश्विन र रवीन्द्र जडेजाको रुपमा दुई स्पिनरलाई एकै पल्ट मैदानमा उतारेको भारतका लागि सफल योजना बन्यो। दुवैले १–१ विकेट लिए पनि अफ्रिकी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्। आज सबैभन्दा उत्कृष्ट बलिङ भुवनेश्वर कुमारले गरे । उनले ७ दशमलव ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। उनी ४३ ओभरमा ह्याट्रिक नजिक थिए। उनले रबाडा र मोर्ने मोर्केललाई लगातार २ बलमा आउट गरेका थिए।

जस्प्रित बुमरा पनि प्रभावशाली रहे। उनले पनि ८ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। पाण्ड्याले १ विकेट झारे। अफ्रिकाका लागि हासिम अमलाले ३५, फाफ डु प्लेसिसले ३६ र जेपी डुमिनीले अविजित रहँदै २० रन बनाए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.