विराट ठूलो हदयको मान्छेः डीभिलयर्स


भारतविरुद्ध च्याम्पियन्स ट्रफीको महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकी कप्तान एबी डीभिलियर्सले विपक्षी टोलीका कप्तान विराट कोहलीको खुलेर प्रसंसा गरेका छन्। उनले कोहली ठूलो हदय र राम्रो मानिस भएको अभिव्यक्ति दिएका छन्।

भारत र दक्षिण अफ्रिका समूह बीअन्तर्गत आइतबार निर्णायक भिडन्तको तयारीमा छन्। यो समूहमा ४ वटै टोलीको समान २ अंक भएका कारण सेमिफाइनलमा प्रवेश गर्न दुवै टोलीलाई जित आवश्यक छ। खेलभन्दा अगाडि पत्रकार सम्मेलनमा कोहलीको विषयमा सोधिएको प्रश्नमा डीभिलियर्सले भने, ‘कोहलीको विषयमा मेरो सामान्य प्रतिक्रिया छ। उनी ठूलो हदय भएका व्यक्ति हुन्।’

उनले कोहलीलाई विश्वस्तरीय खेलाडी बताए। दुवै कप्तान इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेञ्जर्स बेङ्लोरका लागि खेल्छन्। उनले मैदानभित्र प्रतिस्पर्धा स्वभाविक भएको बताए। तर, मैदान बाहिर उनीप्रति आफ्नो ठूलो सम्मान रहेको डीभिलियर्सले बताए।

‘उनी जुन तरिकाले क्रिकेट खेल्छन। मलाई राम्रो लाग्छ। उनी प्रतिस्पर्धी खेल खेल्न रुचाउँछन। उनी सधै माथिल्लो पोजिसनमा रहन रुचाउँछन। मेरो सोच पनि उनीसँग मिल्छ। म पनि टोलीका लागि योगदान गर्न चाहन्छु। उनी लयमा हुँदा रोक्न गाह्रो पर्छ,’ डीभिलयर्सले भने।

उनले आइतबारको खेलमा कोहलीलाई छिटै आउट गर्ने रणनीति नै आफ्नो हुने बताए। ‘उनी जस्तो खेलाडीलाई छिटो आउट गर्न सकिएन भने नोक्सान आफ्नै हुन्छ। उनी लयमा हुँदा उनलाई रोक्न गाह्रो पर्छ,’ डीभिलयर्सले भने।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.