स्टोक्स र मोर्गन चम्केपछि इङ्ल्यान्ड ४० रनले विजयी, अस्ट्रेलिया बाहिरियो, बंगलादेशलाई चिट्ठा


अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको समूह चरणको आफ्नो अन्तिम खेलमा डर्क वर्थ एन्ड लुइस नियमको आधारमा ४० रनले पराजित भएको छ। यो नतिजासँगै दुई पल्टको च्याम्पियन अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने बंगलादेश अघिल्लो दिनको खेलमा न्युजिल्यान्डलाई रोमाञ्चक पराजय गरेको नतिजाका साथ सेमिफाइनल प्रवेश गरेको छ।

५ दशमलव ४ ओभरमा ३५ रनमा ३ विकेट गुमाइसकेको नतिजालाई उल्ट्याउदै इङ्ल्यान्ड विजयी भएको हो। इङ्ल्यान्ड समूह ‘ए’ को सबै तीन खेल जितेर अपराजित बन्दै सेमिफाइनल प्रवेश गरेको हो। अस्ट्रेलियाले अघिल्लो २ खेल वर्षाका कारण अंक बाँडेको थियो।

शनिवार टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको इङ्ल्यान्डले मार्क उड र आदिल रसिदको उत्कृष्ट बलिङमा कङ्गारु टोलीलाई २ सय ७७ रनमा रोकेको थियो। यी दुवैले ४–४ विकेट बाँडेपछि आरोन फिञ्च र कप्तान स्टिभन स्मिथले दोस्रो विकेटका लागि गरेको ९६ रनको साझेदारी ओझलमा परेको थियो। उनीहरु ब्याटिङ गर्दा अस्ट्रेलियाको योगफल ३ सय नाघने सम्भावना देखिएको थियो। चौथो विकेटका लागि ग्लेन म्याक्सवेल र ट्राभेस हेडले पनि ५८ रनको साझेदारी गरेका थिए।

अस्ट्रेलियाको इनिङमा फिञ्चले ६८, स्मिथले ५६ र हेडले अविजित ७१ रन बनाएका थिए।

२ सय ७८ रनको लक्ष्य बोकेको इङ्ल्यान्डको सुरुवात राम्रो भएन। तर, कप्तान इयोन मोर्गनले चौथो विकेटका लागि बेन स्टोक्ससँग मिलेर १ सय ५९ रनको साझेदारी गरेपछि इङ्ल्यान्ड खेलमा फर्कियो। मोर्गन ५ छक्का र ८ चौकाको सहयोगले ८१ बलमा ८७ रन बनाएर रन आउट भए।

स्टोक्स खेलको नायक सावित भए। उनले तेस्रो एकदिवसीय सतक पुरा गरे। उनले २ छक्का र १३ चौकाको सहयोगले १ सय ९ बलमा १ सय २ रन बनाएको अवस्थामा पानी परेको थियो। यतिबेला इङ्ल्यान्डलाई जितका लागि ५८ बलमा ३८ रन आवश्यक थियो। त्यति नै बेला पानी पर्यो र खेल हुन सकेन।

स्टोक्सले अन्त्यमा विकेटकिपर जस बटलरसँग मिलेर अविजित ४६ रनको साझेदारी गरिसकेका थिए। बटलर २९ रन बनाएर खेलिरहेका थिए।
अस्ट्रेलियाका जस हेजलउडले २ र मिचेल स्टार्कले १ विकेट लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.