अस्ट्रेलियालाई च्याम्पियन्स ट्रफीमा रहन आजको खेल जित्नै पर्ने


एसेसका दुई चिरप्रतिद्वन्दी टोली इङ्ल्यान्ड र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको रोमाञ्चक खेल आज दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ।
इङ्ल्यान्ड यसअघि २ खेल जितेर पहिले नै सेमिफाइनल प्रवेश गरिसकेको स्थितिमा अस्ट्रेलियाका लागि आजको खेल ‘गर या मर’ को अवस्थामा छ। समूह ‘ए’ को अर्को खेलमा हिजो श्रीलंकाले अपत्यारिलो ढंगले न्युजिल्यान्डलाई पराजित गरेको थियो। यस्तो अवस्थामा अस्ट्रेलियालाई आजको खेल जित्नै पर्ने बाध्यता छ। पराजय वा बराबरीले अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने छ।

अस्ट्रेलियाले आज राम्रो खेलेर मात्र पुग्ने छैन, उनीहरुका खेलाडीले बर्मिघममा पानी नपरोस भनेर भगवानसँग प्रार्थना पनि गर्नु पर्नेछ। अस्ट्रेलियाको न्युजिल्यान्ड र श्रीलंकाविरुद्धको अघिल्लो २ खेल नै वर्षाले विथोलेको थियो। त्यसैले २ पल्टको विजेता टोलीले अंक तालिकामा २ अंक मात्र जोड्न सफल भएको छ।

इङ्ल्यान्ड अहिले निकै लयमा देखिन्छ। उसको ब्याटिङ लाइन मात्र होइन, बलिङ पनि धारिलो देखिएको छ। इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जासोन रोयले खासै प्रभाव जमाउन सकेका छैनन्। तर, एलेक्स हल्स, कप्तान इयोन मोर्गन, जोए रुटले प्रभावशाली ब्याटिङ गरिरहेका छन्। बीचमा बेन स्टोक्स प्रभावशाली देखिन्छन्। कप्तान मोर्गन आजको खेलमा एकदिवसीयमा कप्तानी गर्ने एन्ड्रयु स्ट्राउसको कीर्तिमानलाई बराबरी गर्दैछन्। स्ट्राउसले एकदिवसीयमा इङ्ल्यान्डका लागि ६२ पल्ट कप्तानी गरेका थिए।

इङ्लिस बलिङमा लियाम प्लुनकेट अहिले सबैभन्दा प्रभावी देखिएका छन्। यस्तै उनलाई सिम आक्रमणमा जाक बल र मार्क उडले सहयोग गरिरहेका छन्।

अस्ट्रेलियाको टोलीमा अहिले सबैभन्दा प्रभावशाली ब्याट्सम्यानको रुपमा प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर देखिन्छन्। उनले बंगलादेशविरुद्धको खेलमा एकदिवसीयमा ४ हजार रन पुरा गरेका थिए। उनी अस्ट्रेलियाबाट सबैभन्दा छिटो ४ हजार पुरा गर्ने ब्याट्सम्यान हुन्।

यसबाहेक कङ्गारु टिममा कप्तान स्टिभन स्मिथ र ग्लेन म्याक्सवेलको प्रभाव अधिक देखिन्छ। मिचेल स्टार्कको तीब्र बलिङ आक्रमणलाई जस हेजलउड, पाट कुमिन्सहरुले सहयोग गरिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.