सकिब र महमदुल्लाको कीर्तिमानी साझेदारी पछि बंगलादेशले हरायो न्युजिल्यान्डलाई


सकिब अल हसन र महमदुल्ला दुवैले सतक बनाएपछि ३३ रनको स्थितिमा ४ विकेट गुमाएको बंगलादेशले च्याम्पियन्स ट्रफीको रोमाञ्चक खेलमा उत्कृष्ट पुनरागमन गर्दै ५ विकेटको जित हात पारेको छ।

यो जितसँगै बंगलादेशको सेमिफाइनल प्रवेशको सम्भावना जिवित रहेको छ भने न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशको जितमा सकिब र महमदुल्ला नायक बने। उनीहरुले पाँचौ विकेटका लागि कीर्तिमानी २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले असम्भव मानिएको जित सम्भव पार्यो।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा मुसफिकर र तमिमले बंगलादेशका लागि १ सय ७८ रनको सर्वाधिक साझेदारी गरेका थिए। उनीहरुले २०१५ मा पाकिस्तानविरुद्ध ढाकामा यो कीर्तिमान रचेका थिए।

सकिब र महमदुल्लाले नायकीय ब्याटिङ गर्ने क्रममा इतिहास रचे। सकिबले १ सय १५ बलमा १ छक्का र ११ चौकाको सहयोगले १ सय १४ रन बनाए। महमदुल्लाले खेल सकिन १६ बल बाँकी रहेको अवस्थामा एडम मिल्नेलाई स्लिप र गल्लीको बीचबाट चौका प्रहार गर्दै जित दिलाए। उनले १ सय ७ बलमा २ छक्का र ८ चौकाको सहयोगले अविजित १ सय २ रन बनाए।

यी दुई ब्याट्सम्यानका कारण टिम साउथीले सुरुवातमै ३ विकेट लिएको प्रभावशाली प्रदर्शन ओझलमा पर्यो।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५७ र रोस टेलरको ६३ रनको सहयोगले ८ विकेटको क्षतिा २ सय ६५ रन बनाएको थियो। प्रत्युत्तरमा बंगलादेशले ४७ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै विजयी लक्ष्य प्राप्त गर्यो।

जितपछि बंगलादेशले सेमिफाइनल यात्रालाई जिवित राखेको छ। समूह ए मा इङ्ल्यान्ड अघिल्लो २ खेल जितेर यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। यस अवस्थामा बंगलादेशलाई भोली इङ्ल्यान्ड र अस्ट्रेलियाबीच हुने समूह चरणको अन्तिम खेलको नतिजा महत्वपूर्ण रहनेछ। यो खेलमा इङ्ल्यान्ड विजयी वा खेल बराबरीमा रोकिएको खण्डमा बंगलादेश सेमिफाइनल प्रवेश गर्नेछ। तर,अस्ट्रेलिया विजयी भएको खण्डमा बंगलादेश प्रतियोगिताबाट बाहिरिने छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.